च्याट गर्ल : युवामनोभावका उत्कृष्ट कथाहरु

सुमन कटुवाल

भर्खरै प्रकाशित भएर बजार आएको र चर्चा पाउँदै गरेको मिलन संग्रौलाको “च्याटगर्ल” नयाँ पुस्ताको आशलाग्दो कृतिको रुपमा देखा परेको छ । तेह्रवटा कथाहरु संग्रहित यस संग्रहका कथाहरु युवा मनोदशामा केन्द्रित रहेका छन् । यी कथाहरुमा लेखकले आफैंले देखेको र भोगेको समाजको चित्रण कलात्मक ढंगले प्रस्तुत गन सफल भएका छन् ।



पहिलो कथा “भालुबाँसका खोपिएका अक्षर”मा बालसखा र बालप्रेमको नोस्टेल्जिक टेक्निक प्रयोग गरेर कलात्मक प्रस्तुती दिएका छन् । पहिलो कथाले नै पाठकको मन छुन सफल देखिन्छ । सामान्य कथानकलाई पनि भाषाको पकडमार्फत गहन बनाइदिन सफल देखिन्छन् लेखक ।

“लत्पतिएका जीवनकथा” एउटा प्रतिभावान चित्रकारको कथा हो जो विभिन्न बाध्यताले विदेखिन बाध्य भएको छ । उसले आफूमा रहेको प्रचुर क्षमता आफूमा नै सिमित गराएको छ । तर संघर्षका बाबजुद पात्रको उज्ज्वल भविष्यको संकेत पनि देखाएको छ कथाले ।

एउटा ड्राइभर र नर्तकीको असफल प्रेमपछि उब्जिएको अवस्थिति कारुणिक चित्रण रहेको छ “बाँचेकाहरु” कथामा । असफल प्रेमपछि पागल बनेको प्रेमीको कथा निकै मार्मिक रहेका छ ।

कथालेखनमा विविध कथानक भित्र्याउन खप्पिस देखिएको मिलनको अर्को कथा रहेको छ “अधुरो पदक” । नेपाली खेलकुद र खेलाडीको वास्तविकतालाई व्यगं र चिन्ता एकसाथ देखाउन साफल भएको छ यो कथा ।

अर्को कथा रहेको छ “लाहुरे डायरी” । बिटि्रस नेपाली सेनामा भर्ना भएको सिपाहीमा उत्पन्न युद्धविरोधी मनोदशाको चित्रण गरिएको छ यस कथामा । कथाको अन्त्य सन्देशात्मक रहेको छ ।

संगहका कथामध्ये भिन्न कथा रहेको छ “फरक युग र श्रवणकुमारहरु ।” सुत्रात्मक संचरनामा रहेको यो कथाले वर्तमान युगका युवा पिढीँको अवस्थितिलाई एउट अलग दृष्टिले देखाएको छ ।

“नवक्रान्तिको सुरुवात” एउटा क्रान्तिकारी प्रेमीको कथा हो । प्रेम र क्रान्तिको संयोजनलाई गजब किसीमले प्रस्तुत गरेको छन् लेखकले । प्रेम र क्रान्ति मध्ये कुन ठूलो भन्ने कौतुहलताको उत्तर पनि पाइन्छ यस कथा ।



नोस्टाल्जिया मिलनका कथाहरुको एउटा मुख्य तत्व देखिन्छ । संग्रहको अर्को शक्तिशाली नोस्टाल्जिक कथा हो “बालसखाहरु” । आफूले भन्न चाहेको भावलाई लेखक कथानकको उत्थान र विकास गर्न निकै चलाख देखिन्छन् । त्यस्तै अन्त्य पनि सुन्दर ढंगले गरिएको कथा हो बालसखाहरु ।

एउटा सोझो मेहनती रिक्सावालाले देखेको सपना र भागेेको बाध्यताको कथा हो “सपना विपना” । नेपालको राजनीतिक अस्तव्यस्तताले एउटा गरीखाने सामान्य नागरिकलाई कसरी असर पार्छ भन्ने छर्लगं पारिएको छ ,

शहरी पृष्ठभूमिमा लेखिएको कथा हो “केटीको ढाडको जुम्रो” । यसले तल्लो र माथ्लो तहबीचको खाडललाई देखाएको छ भने शहरी आडम्बरलाई रोचक ढंगले व्यंग्य पनि गरेको छ ।

मधेशको पृष्ठभूमिमा लेखिएको “सार्थक मृत्य”ु एउटा अपहरणमा परेको पत्रकारको मानसिकतामा केन्दि्रत रहेको छ । नेपालमा क्षेत्रियताले उब्जाएको नकारात्मक परिणामलाई चित्रण गरिएको छ ।

शहर र गाउँको दुवै परिवेश मिसि्रत कथा हो “प्रेमोपहार” । अरुकथाभन्दा अलिक सस्तो भावुकता पस्किए पनि आजका युवाहरुको वास्तविकता चित्रण गर्न सफल भएको छ उक्त कथा ।

संग्रहको अन्त्यमा रहेको छ “च्याट गर्ल” । सबैभन्दा लामो तर रोचक र शक्तिशाली । आजको साइबर पुस्ताको मनोविज्ञानमा केन्दि्रत । यो एउटी युवती र एक शिक्षक (लेखक आफैं) बीचको च्याटसंवादमा आधारित छ । जुन एउटा रहस्यको घेराले घेरिएको हुन्छ । जब यस रहस्यको पर्दाफास हुन्छ तब दुवैपक्षको भावना र मनोदशा छताछुल्ल हुन्छ । यसको शैली पनि गजबको छ ।

यसरी सरल भाषाशैली, आफ्नै परिवेशको चित्रण, आफ्नै भोगाईको वर्णन, आफ्नै सेरोफेरोका चरित्रहरुलाई टपक्क टिपेर कथामा उनिएका कथाहरुको उत्कृष्ट संगालो बन्न पुगेको छ च्याट गर्ल । पढ्न थालेको पाठकलाई कथामै बाँधेर राख्न सक्नु पनि प्रस्तुत कथासंग्रहको खुबी रहेको छ ।

मिलनका कथाहरुका देखिएको सानो कमजोरी भनेको प्रत्येक कथामा उनी आफूलाई कहिँ न कहिँ देखाउँछन् । आफूभन्दा पर हेर्ने एउटा विस्तृत दृष्टिकोण बनाउने हो भने भविष्यमा उनीबाट निकै शक्तिशाली कृति अपेक्षा गर्न सकिन्छ ।

याम्बुरी बुक प्वाइन्टले प्रकाशित गरेको १३४ पृष्ठको यो पुस्तकको मुल्य भने अलिक बढी राखिएको छ रु २२५ । मुल्य साधारण राखेर नयाँ पुस्तालाई टार्गेट गर्ने हो भने यस पुस्तकले नेपाली साहित्यको पठन संस्कृति बढाउन योगदान पुर्याउने देखिन्छ ।