रिलिज नहुँदै दिपिकाको जवानीले कमायो १ अरब

आजभोलि बलिउडका फिल्मकर्मीहरुका लागि सबैभन्दा महत्वको कुरा आफ्नो फिल्मलाई १ सय करोड क्लबमा सामेल गर्नु रहेको छ । फिल्मले एक सय करोड अर्थात् १ अरब भारु कमाई गर्यो भने त्यो उनीहरुका लागि निकै गौरवको विषय बन्ने गर्छ ।

फिल्म रिलिज भएपछि कति दिनमा अरब कमाउला भनेर दिन गनेर बस्ने गरिन्छ । तर बलिउडको एक फिल्मले भने रिलिज नहुँदै एक अरब भारु कमाएर नयाँ किर्तिमान कायम गरेको छ ।



दिपिका पादुकोण र रणविर कपूरको रोमान्टिक जोडीले अभिनय गरेको फिल्म ‘ये जवानी है दिवानी’ले रिलिज नहुँदै एक अरब भारु कुम्ल्याएको हो । ५२ करोड भारुमा बनेको यो फिल्मले आज शुक्रबार रिलिज हुनु अघि नै एक अरब कमाइसकेको छ । सुत्र अनुसार यो फिल्मको शुटिङ सुरु हुनुभन्दा अगाडि नै यसले ५५ करोड भारु कमाइसकेको थियो । एक वितरक कम्पनीले यो फिल्मलाई भारतभर वितरण गर्ने अधिकार ५५ करोड भारुमा किनेको थियो ।

त्यस्तै यसको विदेशमा प्रदर्शन गर्ने अधिकार वितरकले २८ करोड भारुमा किनेको छ भने यो फिल्मको गीत एक कम्पनीले ८ करोड भारुमा किनेको छ । यस्तै स्याटेलाइट अधिकार बिक्रि गरी फिल्म निर्माता कम्पनीले थप २१ करोड कमाएको बताइएको छ ।