ऋचाको अनुहारमा इन्दिरा खोज्दा के भयो त ? हेर्नुहोस परिणाम

२०६१ सालको मध्य फागुन। सरकार–माओवादीबीच दोस्रो वार्ताको चरण। सरकार–माओवादीको भाषामा ‘युद्धविराम’। जुनबेला हतियार चलेका थिएनन्। नेपाली जनता दिनदिनै मर्ने क्रम रोकिएको थियो। माओवादी रिर्पोटिङका क्रममा पश्चिम पहाड निक्कै उक्लिएका थियौं। पूर्वी पहाड मेसो परेको थिएन। माओवादीको पूर्वी ब्युरो सधैं गुनासो गर्थ्यो, ‘पूर्वमा किन नआउने?’



‘युद्धविराम’कै अवसरमा पूर्वी क्षेत्रमा ठूलो कार्यक्रम आयोजना गर्ने तयारी भएछ। मातृका पौडेलले सम्पर्क गरे। पूर्व जाने निश्चित भयो। मातृका, दीपेन्द्र खनियाँ, राजेन्द्र फुयाल जाने निधो भयो। सम्पर्क रामेछाप। कहाँ जाने, माओवादीले कहिल्यै नभन्ने। दुई दिनपछि रामेछापको दुरागाउँ पुगियो।

दिउँसो सैंपुमा माओवादी सम्पर्क स्थान थियो। दिनभर बसियो। बेलुका साढे ४ बजेसम्म माओवादी सम्पर्क सूत्र अतोपत्तो भएन। त्यहाँ ‘जीवन्त’ भन्ने माओवादी नेताको घर रहेछ। उनका दाइको घरमा आलु खाएर बस्दै गर्‍यौं। सवा ५ बजेतिर दुई जना युवती आए। कम्मरमा ग्रिनेड भिरेका। एउटाको कम्मरमा कटुवा पेस्तोल।

‘सलाम तपाईंहरु हो काठमाडौंबाट आएको?’ ‘म कोपिला,’ अर्कीले भनिन्, ‘म भूमिका।’ माओवादी रिर्पोटिङमा सधैं त्यस्ता पार्टीगत नामसँग परिचय हुने हामीलाई नौलो लागेन। क्रमशः परिचय दिऔं। कालो चिया दिए जीवन्तका दाइले। खाइवरी सैंपुको साँघु तरियो। बाँसको साँघु तलमाथि गर्दै डरैडरले तरियो। उकालो आधा घन्टा हिँडेपछि ओखलढुंगाको पोकली छहरा तलको गाउँमा बास मिलाइयो।

अर्को बिहानै हिँडियो। टारकेराबारी हुँदै कुलैकुलो यसम डाँडाको फेदमा खाना व्यवस्था भयो। यसमा उकालोले दिनभर खायो। साँझ झमक्कै भयो। फेरी ओरालो। अर्को उकालो आयो। कार्यक्रम हुने स्थल घोडाखोरी पुगियो। वैदारको घरमा बसियो। दुई दिनको कार्यक्रम भयो। कार्यक्रममा कोपिला, भूमिका लहरै मञ्चअगाडि बसेर हामीलाई फूलको माला लगाइदिए।

हरियो सुरुवाल। आकाशे रङको कमिज। माथितिरका बटन राम्रा नभएका। तलतिर बटनै नभएर कम्मर छेउमा कमिजको गाँठो पारेकी। पातली, निर्दोष अनुहार। पुलुक्क हामीतिर हेर्दै मुस्कुराइन्। बिहान धारामा मुख धुने बेला उनीसँग भेट भयो। मातृकाले भन्यो, ‘सेना हो कमरेड?’ उनले भनिन् हैन। स्वास्थ्य विभाग।

नाम के हो नि? प्रश्न गरेँ, ‘इन्दिरा।’

घर कहाँ हो? ‘रूम्जाटार वारितिर।’

कति भो पार्टीमा लागेको? ‘दुई वर्ष।’

कार्यक्रमको भोलिपल्ट माओवादी सेनाको लर्कोसँगै हिँडियो। हिँड्ने बेला मातृकाले मलाई कानमा खुसखुस गर्न आयो।

‘ओई। इन्दिरा भन्ने छ नि? त्यो त अस्ति आलु खाएको जीवन्त भन्नेको घर थियो नि रामेछाप सैंपुमा। उसैको हुनेवाला श्रीमती हो। साइनोले मेरो भाउजु पर्ने भइन्।’ जीवन्त मातृकाका तेह्र दिने भाइखलकका पौडेल।

घोडाखोरीबाट ओरालो झरेर पुल तरियो। पुलमा लडाकुको कम्ब्याट, हतिहार बोकेका लस्कर लाग्यो। मातृका, दीपेन्द्र, राजेन्द्र, म र इन्दिरा, भूमिका सँगसँगै थियौं। लुइँटेल गाउँमा लुइँटेल सरको घरमा मोही खाइयो। त्यहीँबाट इन्दिरासँग बातचित सुरु भयो।

स्वास्थ्य विभागमा कसरी आइयो?

‘सिएमए भर्ना भाथेँ।’

कसरी आइयो त, माओवादीमा?

‘यस्तै भयो।’

घरमा कोको नि?

‘आमा, बुवा छन्। दाइ शाही नेपाली सेनामा। दाइसँगै बसेर पढ्थेँ यता आइयो।’

डर छैन दाइको?

‘भेट त भाको छैन।’

फ्यास्स हाँसिन इन्दिरा। त्यसपछि कुरा गरिनँ।

कटुञ्जे उकालो लाग्ने बेला कार्यविभाजन भयो। हाम्रो टोलीलाई घुर्मी पुर्‍याउने टिममा इन्दिरा परिन्। डाँडासम्म सँगसँगै भएँ। ढाँडखोला ओरालोमा अचानक मेरो घुँडा अचाक्ली दुख्यो। खानाको बन्दोबस्त गर्न इन्दिरा र राजेन्द्र अघि हिँडे। म मातृकाको काँधको भरोसामा सुस्केरा हाल्दै बगरमा हिँडे।

बास ढाँडखोलाको पुछार धमला गाउँको धमला होटलमा मिलाइएछ। इन्दिराले भाले खोजिछिन्। हामी जाँदा खाना तयार भइसकेको थियो। उपल्लो तला सुत्ने व्यवस्था भयो। होटल हो। इन्दिराले सबै भाँडा माझिन। चुल्हो लिपपोट गरेर। हामी सुतेकै छेउमा झोला सिरानी बनाएर सुतिन्।

बिहान उठ्दा इन्दिराले घर लिपपोत गर्दै थिइन्। ‘होटल्नी साहुनी मेरो आमाजस्तै हुनुहुन्छ। हामी सबैको घर यस्तै त हो नि,’ हाँस्दै भनिन् उनले। हामी डिँड्ने बेला भयो। घुर्मीसम्म इन्दिराले हामीसँग आउने इच्छा व्यक्त गरिन्। ‘म पनि जान्छु। केही समान किन्नु छ।’

‘पर्दैन। हामी जान्छौं,’ कमान्डरको ठाडो आदेश।

पुर्लुक्क परेको आँखामा पिलपिल आँसु बनाइन्। हामीतिर इन्दिराले पुलुक्क मात्रै हेरिन्। हामीले हात मिलायौं। ‘कुनै दिन भेट होला नि,’ इन्दिराले आशा व्यक्त गरिन्। हामी घुर्मीबाट काठमाडौं लाग्यौं। भदौ अन्त्यतिर युद्धविराम भंग भयो। अचानक एक दिन फोन आयो।

‘इन्दिराको सहादत भयो। दुःखद खबर। उनको जीवन्तसँग विवाह भइसकेको थियो। जीवन्त इन्डिया जेलमा छन्। इन्दिरा गर्भवती थिइन्।’ त्यसयता ९ वर्ष मेरो दिमागमा इन्दिरा हराएकी थिइन्।

बुधबार अचानक ‘उमा’ फिल्म हेर्ने मौका मिल्यो। कथावस्तु के कस्तो भन्ने व्याख्या गर्न मलाई आउँदैन, समीक्षक नभएकाले। तैपनि जुन धरातलमा कथा रच्यो, उही अनुसार फिल्म निर्माण भएको रहेछ।

माओवादी लडाइँको जग कहाँ थियो? त्यो हिजो लडेका, भिडेका, प्रत्यक्ष पात्रहरूसँगको भोगाइलाई फिल्मले त्यति छुँदैन। युद्धको मनोवैज्ञानिक असर, मानवीय संवेदनालाई फिल्मले वालछेल चाहिँ पारेको छ। मात्रै यत्ति अनुभूति हो ‘उमा’ जसरी माओवादी बनिन् र मारिइन्। ‘युद्ध’कालमा भेटिएको इन्दिरा त्यसरी नै मारिइहोलिन् भन्ने हो। यतिबेला उमा बन्ने ऋचाको अनुहारसँग इन्दिराको अनुहार दाँज्नु मेरो अतितको यादमात्रै हो। रियल पात्र इन्दिराका आमा, दाइ के गर्दै होलान्? ‘उमा’ हेरेपछि यो प्रश्न मेरो दिमागमा घुमिरहेको छ।