डाँकाको आक्रमणमा दम्पतीको ज्यान गयो

८ असार, खोटाङ । डाँकाको आक्रमणबाट खोटाङमा एक दम्पतीको ज्यान गएको छ । सात/आठजनाको समूहमा आएको डाँकाको धारिलो हतियार प्रहारबाट पाथेका-४ का ७८ वर्षीय चक्रबहादुर गिरी र उहाँकी ७५ वषर्ीया श्रीमती लीलामाया गिरीको ज्यान गएको हो ।



शुक्रबार बेलुकाको खाना खाएर सुत्न लागेका बेला डाँकाको समूहले एक्कासि वृद्धवृद्धामाथि धारिलो हतियारबाट आक्रमण गरेको प्रहरी निरीक्षक रमेशकुमार देवले बताउनुभयो । रातको करिब ११ बजेतिर लीलामायालाई आक्रमण गरेका डाँकाको समूहले क्रमशः चक्रबहादुर र ५१ वर्षीय छोरा अमर गिरीलाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

आफ्ना वृद्धवृद्धा बाबुआमामाथि आक्रमण भएको थाहा पाएपछि बचाउन गएका छोरा अमर गिरीको टाउकोमा गहिरो चोट लागेको छ । अमरको छोरा कुमार गिरी हल्ला गर्दै घटनास्थल पुगे लगत्तै लीलामायाले लगाएको दुई तोला सुन लुटेर डाँका फरार भएको गिरी परिवारले बताएको छ ।

आक्रमणमा संलग्न डाँका समूहको पहिचान भएको छैन । घटनास्थल गाउँबाट एकान्त र फोन पनि नलाग्ने ठाउँ भएकाले घटनाबारे ढिलो जानकारी आएको प्रहरीले बताएको छ । अहिले मृतक दम्पतीको शव परीक्षणका लागि सदरमुकाम दिक्तेल ल्याउने काम भइरहेको छ । डाँकाको धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बनेका अमरलाई पनि उपचारका लागि सदरमुकाम ल्याइँदै छ । रासस