छाउनीमा ज्वाईबहादुर आतंक

जनतामाथि ज्यादति गर्न थालेपछि राजतन्त्र नै हुत्याइयो। तर, पूर्वराजाका केही आफन्तहरूमा राजतन्त्रको तानाशाही भूत अझै सवार रहेछ। छाउनीतिर जाने हो भने त्यो भूतले सताएका पीडितहरू एक से एक देखिन्छन्, जहाँ पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहको निवास छ। उनको हवेलीमा घाम छेकिने भो भनेर अब उनका वरिपरि कसैले पनि जग्गा किनेर घर बनाउन नपाउने भए। उनको निद्रा खज्मजिने भो भनेर त्यसनजिकै कुनै बन्दव्यापार पनि सर्वसाधारणले गर्न नपाउने भए। छायाँदेवी क्रसेन्ट नामक कम्पनीले सहरी विकास विभाग, उपत्यका विकास प्राधिकरण, महानगरपालिका लगायत सम्बन्धित सबै निकायको स्वीकृति लिएर आवासीय भवन निर्माणको काम थालेपछि केही सुकिलामुकिला आएर कामदारलाई हप्काउन थाले।



कामदारले निर्माण कम्पनीलाई जानकारी गराएपछि सोधीखोजी गर्दै जाँदा थाहा भयो ती त पूर्वराजाका ज्वाइँ राजबहादुर सिंह, उनकी छिमेकी रजनी चन्द, गायक योगेश्वर अमात्य लगायत रहेछन्। १४ तलामा ४२ अपार्टमेन्ट बनाउन ७ रोपनी जग्गामा थालिएको उक्त परियोजना ९० करोड लागत रहेको छ। बैंकबाट चर्को ब्याजमा लिइएको ऋणबाट थालिएको उक्त निर्माण उद्यमलाई चौपट बनाउन सिंह र उनका छिमेकीहरू अहिले ज्यान फालेर लागिपरेका छन्।

कहिले कामदारलाई हप्काउने, धम्काउने त कहिले झूटो सूचनाका आधारमा विभिन्न निकायमा उजुरी गरेर दुःख दिने गरेका छन्। त्यस्तै झूटो उजुरी लिएर काठमाडौँ महानगरपालिकामा गएका उनीहरू त्यहाँ पराजित भए। त्यसपछि उनीहरू पाटन पुनरावेदन अदालत पुगे। त्यहाँबाट पनि हारेपछि सर्वोच्च अदालत पुगेका छन्। यसरी विभिन्न बहानामा दुःख दिने, व्यवसाय गर्न खोज्नेलाई आतंकित र हतोत्साहित पार्ने सिंहको दादागिरीलाई कसले तह लगाउने?