इराकको कोठीमा ८० दिन विताएकी नेपाली चेलीको दर्दानक कथा

विदेशबाट फर्किएको सात महिना मात्र भएको थियो । कुवेतमा चार वर्ष र ओमानमा दुई वर्ष बिताएर नेपाल फर्केकी थिएँ । फेरि विदेश नै जाऊँजस्तो लाग्थ्यो ।उताबाट फर्किएपछि नयाँबस्तीमा डेरा लिएर बस्दै आएकी थिएँ । गत पुसमा उता सँगै काम गरेर फर्किएकी मोरङकी साथीले भेटौँ न भन्दै फोन गरिन् । उनी एकदम मिल्ने साथी थिइन् । उताबाट मभन्दा पछि फर्किएकी हुन् ।र्फकेको केही दिनपछि भेट्न खोजिन् । मैले नयाँबस्ती नै बोलाएँ ।हामी नजिकैको बेम्बो रेस्टुरेन्टमा तिब्बतियन मःम खान गयौँ ।कुवेतमा बसेका दिनहरूको कहानी सम्झँदै खाजा खाइरहेका थियौँ ।


त्यही होटलमा एक महिला अन्य केही युवतीसँग थिइन् । दुईजना साथीलाई पठाएपछि उनले हामीसँग कुरा गर्न खोजिन् । बहिनी कहाँ घर भनेरसोधिन् । ‘संखुवासभा हो, किन र दिदी ?’ मैले भनेँ । ‘ए, मेरो पनि सोलु हो, नजिकै रहेछ,’ उनले भनिन्, ‘बहिनीहरू विदेश गएर आएकोजस्तो लाग्छ, त्यही भएर सोधेको ।”हो दिदी, कसरी गेस गर्नुभयो ?’ मैले सोधेँ । ‘मैले तपाइर्ंहरूको गफ सुनिसकेँ,’ उनले भनिन् ।’दिदी पनि विदेशबाट फर्किनुभएको हो ?’ मैले फेरि सोधेँ । नभन्दै उनी पनि विदेश गएर फर्केकी रहिछन् । उनले आफूलाई कुमारी शेर्पा भनेरचिनाएकी थिइन् । तर, खासमा उनको नाम फूलकारी महरा रहेछ ।

कुरा गर्ने क्रममा उनी हामी बसेकै टेबलमा आइन् । यो मेरो दाइकै होटल हो भन्दै विभिन्न कुरा गर्नथालिन् । अब नेपाल नै बस्ने कि फेरि विदेश जाने भनेर पनि सोधिन् । ‘म त विदेशै र्फकन्छु होला, दिदी,’ मैले मनको कुरा भनेँ । ‘विदेश जाने भए त म पनि पठाउँछु,’ उनले भनिन् । कहाँ-कहाँ पठाउनुहुन्छ भनेर सोध्दा उनले कुवेत, साउदी, दुबई, इराक सबैतिर पठाउने बताइन् । इराकमा त झन् महिनामा ७०/८० हजार हुन्छ भनेर लोभ्याइन् । मैले पहिलोचोटि उनकै मुखबाट इराक देशको नाम सुनेकी थिएँ । इराक भनेको कहाँ हो कस्तो छ भनेर सोधँे । म त अनपढ मान्छे, इंग्लिस आउँदैन पनि भनेँ । उनले अरबी र हिन्दी जाने पुग्ने जवाफ दिइन् । कम्पनीमा आठ घन्टा काम गर्नुपर्ने, महिनामा आठ सय डलर तलब हुने, खाना आफ्नै हुने र बस्न कम्पनीले दिने उनको भनाइ थियो । अन्तिममा जानका लागि साढे चार लाख लाग्नेबताइन् । मैले घटाएर चार लाख रुपैयाँमा मनाएँ । हामीले नम्बर साटासाट गर्यौँ । म इराक जाने सपना देख्न थालेँ ।एक हप्तापछि सोही रेस्टुरेन्टमा उनले बोलाइन् । म पासपोर्ट लिएर गएकी थिएँ । पासपोर्टसँगै पैसा पनि राख्नुपर्ने बताइन् । भिसा आएर नगए जिम्मेवारी को हुन्छ भन्दै ५० हजार मागिन् । मैले ३५ हजार रुपैयाँ दिएँ ।पैसा र पासपोर्ट दिएको एक महिनापछि फोन गरिन् । भिसा आएको भनेर भेट्न बोलाइन् । काम एकदम राम्रो छ, सेल्समेनमा हो भनिन् । हिन्दी र अरबी भाषा आउने भएकाले म पनि खुसी भएँ । घरमा बुबाआमा बूढाबूढी हुनुहुन्छ । उहाँहरूलाई पाल्नुपर्छ । बहिनीहरू छन्, उनीहरूलाई पढाउनुपर्छ त्यही जिम्मेवारीका कारण फेरि विदेश जाने निर्णय गरेकी थिएँ । दाइलाई भने इराक नभई अन्तै जान लागेको भनेर ढाटेँ । दाइले ऋण मागेर मिलाइदिनुभयो ।पुस २६ गते म उड्ने भएँ । २५ गते पैसा बुझाइयो । पैसा दिएपछि रसिद मागेँ । घरजग्गा किनेको होइन, तमसुकहरू पर्दैन भन्दै उल्टै उनी रिसाइन् ।

पछि, अंग्रेजीमा तीन लाख ६५ हजार लिएको लेखेर सही गरेकी रहिछन् ।पैसा बुझाएको भोलिपल्ट इराक जाने पक्का भयो । बेलुका पाँच बजे सोही होटलमा बोलाइन् । ६ बजे त्यहाँबाटएयरपोर्ट पुर्याइन् । विमान नचढेसम्म फोन गरिन्, त्यसपछि सम्पर्क गरिनन् ।दुबईमा दुई घन्टा ट्रान्जिट भनेको आठ घन्टासम्म बस्नुपर्यो । पानी पनि खान दिइएन । यहाँबाट बिहान १० बजे खाना खाएर हिँडेकी थिएँ । तीन दिनसम्म म भोकै भएँ । इराक पुगेपछि एउटा व्यक्ति लिन आयो ।भोकले म मर्न लागिसकेकी थिएँ । एयरपोर्टबाट चारघन्टा लगाएर सुलेवाली भन्ने ठाउँमा रहेको एउटा अफिसमा लग्यो । अफिसको माथिको तलामा लगेर एउटा कोठामा राख्यो । कोठामा आराम गर भन्यो । तीन दिन भयो खाना नखाएको, खाना खान देऊ भनेँ, तर उसले दिएन । राति मात्र खान पाइन्छ भन्यो । रातिचाहिँ दुई गाँस भात र तरकारी ल्याएर दियो । त्यसपछि मेकअप गर, चिटिक्क परेर बस भन्यो । म कहिल्यै मेकअप गर्दिनँ भनँे । उनीहरू अरबी भाषामा बोल्थे । मलाई त्यसरी यसो गर, उसो गर भन्ने बंगाली फूलकुमारीको साथी रहेछ । त्यहाँ पुगेको तीन दिनसम्म केही काममा लगाएन । खान पनि राति अलिकति दिन्थ्यो । त्यो त कोठी रहेछ । त्यहाँ बाहिरबाट मान्छे आउँदा रहेछन् । चौथो दिन बेलुका म बस्ने कोठाभन्दा तल्लो तलामा बोलाए । त्यहाँ बाहिरबाट आएका केटाहरूले मलाई जिस्काएर छुन खोजे । के खोज्न आएको तिमीहरू भन्दै मैले गाली गरेँ । ती केटाहरू रिसाएर गए ।

उनीहरूलाई तिमीले के भनेर पठायौ भन्दै पछि बंगाली पनि जंगियो । केही होइन, नेपालको एजेन्टलाई तुरुन्त फोन गर्न दे भन्दै मैले ऊसँग झगडा गरेँ । मलाई एकदमै रिस उठ्यो । म यस्तो काम गर्दिनँ कि त मलाई काममा पठाऊ, नत्र नेपाल र्फकन्छु भनेँ । आखिर चार/चार लाख पैसा तिरेर म त्यहाँ पुगेकी थिएँ । मलाई त काम चाहिएको थियो । सुमन भन्ने त्यो बंगालीसँग मेरो झगडा नै पर्यो । त्यसपछि रिसाउँदै झन् अँध्यारो कोठामा लगेर मलाई थुनिदियो । तँ हामीले भनेको मान्छेस् कि मान्दिनस् भन्दै फेरि थर्कायो । मान्दिनँ भन्दै म पनि झोक्किएँ । जे कामका लागि आएको हो, त्यो पाए गर्छु नत्र गर्दिनँ भनेर अड्डी लिएँ । म एकदमै ठूलो- ठूलो स्वरमा म कराएँ । आखिरमा ल ठीक छ, तँलाई म काममा पठाउँछु भन्यो । तर, मार्केटिङको काम नभई घरमा काम गर्न पठायो । ठीकै छ भनेर म गएँ । किनकि, त्यहाँ म बस्नै सक्दिनथेँ । त्यसपछि साहु आएर मलाई हेर्दै साइन गर्न लगाएर उसको घर लिएर गयो । तर, त्यो घरमा पनि राम्रो भएन । साहुले सधैँ कुट्ने गथ्र्याे । साहुका दुईवटा छोरा थिए । ठूलो छोरा दुव्र्यवहार गथ्योर्े । ‘तँैले मलाई समाउन पाउँदैनस्, नोकर भए पनि तैँले समाउन पाउँदैनस् । यसरी हातपात गरिस् भने भने म पुलिसकहाँ जान्छु’ भन्दै त्यसलाई पनि धम्क्याएँ ।

सधैँ झगडा हुन्थ्यो । त्यसरी नै दुई महिना बित्यो । ल मेरो अब तलब दे भन्दै पैसा मागँे । चार/चार लाख पैसा तिरेर आएको छु, नेपाल पैसा पठाउनुपर्यो भनेँ । त्यतिवेला म छाँगाबाट खसेझैँ भएँ, जब साहुले भन्यो, ‘तँलाई त आठ हजार डलरमा हामीले किनेर ल्याएका हौँ, अस्ति अफिसमा त्यही सही गरेको होइन ?’ उसले तलब नपाउने, फोन गर्न पनि नदिने र गेटबाट बाहिर निस्कन पनि नपाउने बतायो । अहिल्यै मेरो अफिसमा पुर्याइदे भनेर बाझेँ । यसले अब मान्दिन भन्ने लागेछ, त्यसपछि मलाई अफिसमा पुर्याइयो । त्यहाँ पुगेपछि त्यो साहु र बंगाली केटाले मलाई कुट्न थाले । यता पनि लुगा तान्छन्, उता पनि तान्छन् । मैले डेढ तोलाको सुनको सिक्री लगाएकी थिएँ । त्यो पनि लुटे । खाने सुविधा नहुने भनेकाले पैसा चाहिन्छ भनेर मैले आठ सय डलर पनि लिएर गएकी थिएँ । छातीमा लुकाएर राखेको त्यो पैसा पनि उनीहरूले लछारपछार गर्दा खस्यो, र उनीहरूले टिपेर लगे ।

तिमीहरूलाई दया छ भने यस्तो नगर, दया छैन भने अहिले नै मारिदेऊ भनेर म रोएँ, चिच्याएँ । नत्र एक दिन न एक दिन म भागेर पुलिसकहाँ जान्छु भनेर धम्क्याएँ पनि । उनीहरूले पटक-पटक कोठामा थुनेर बलात्कार गर्न खोजे, तर सकेनन् । कुट्नचाहिँ भक्कु कुटे । मेरो दाहिने हात र औँला मर्कियो । दुईजना केटाले बलजसरी एउटा कुनाबाट अर्काे कुनामा फाले । मेरो त हातखुट्टा ढुंगाजस्तो भयो, केही थाहा नहुने । बाहिरबाट ताल्चा लगाएर जाने गर्थे । एकदमै जाडो ठाउँ थियो । हिउँ नै हिउँ पथ्र्याे । कति जाडो हुन्थ्यो । त्यस्तोमा सिमेन्टीको भुईंमा राखिएको थियो । हिउँको चिसोले जिउ सुन्नियो । अरू केटीलाई पनि त्यहाँ कोठामा राखिएको थियो । जे भने पनि मान्नेलाई चाहिँ माथिल्लो बिल्डिङमा लगेर राम्रै गर्थे । नमान्नेलाई चाहिँ कुट्ने र घरमा बेच्ने गर्दा रहेछन् ।

हाम्रो तलब पनि उनीहरूले नै ल्याएर खाँदा रहेछन् । कोठीमा रातको ११ बजेेदेखि १ बजेसम्म केटाको लाइन लाग्थ्यो । मान्छे आएको- गएको कोठाभित्रैबाट म सबै थाहा पाउँथेँ । दुई/ तीन बजेतिर केटाहरू र्फकन्थे । त्यहाँ सफा गर्ने, चिया खुवाउने एउटा फिलिपिनी केटी पनि काम गर्थी । मैले उसलाई आफ्ना दुःख सुनाएँ । म दाइलाई फोन गर्छु, तिम्रो फोन देऊ न भनेर मागेँ । तर, उसले दिइन । उसले ‘नेपालमा फोन गर्न धेरै लाग्छ, यहाँ बस्ने एकजना नेपाली दाइ चिनेको छु त्यो दाइलाई फोन लगाउँछु, त्यो दाइलाई तेरो घरको नम्बर दे’ भनेर सिकाई । ल ठीकै छ भनेँ । त्यो नेपाली दाइलाई फोन गर्न लगाएर उहाँसँग कुरा गरे । मेरा दुःख सबै सुनाएँ । उहाँले मेरो दाइलाई फोन गरेर तपाईंकी बहिनी यस्तो- यस्तो अवस्थामा छे भनेर सुनाइदिनुभएछ । म उता गएदेखि दाइसँग फोन भएको थिएन । त्यस्तो खबर थाहा पाएपछि मलाई नेपाल फर्काउन दाइले धेरै दुःख गर्नुभयो । दुनियाँ बहाना गरेर दाइले मलाई नेपाल फर्काउन सफल हुनुभयो । फिलिपिनीमार्फत त्यो बंगालीको नम्बर पत्ता लगाएर दाइले उसलाई फकाउनुभयो । ‘मेरी बहिनी बिरामी छ, नेपालमा एकदम राम्रो- राम्रो डाक्टर छ । उपचार गरेर उसलाई पठाइदिन्छु । म पनि यस्तै -कोठी) बिजनेस गर्छु । धेरै केटी विदेशमा पठाउने गर्छु । गाउँमा धेरै केटी छन् । चाहियो भने म ५०/६० जना एकैचोटि पठाइदिन्छु । मेरो बहिनीचाहिँ फर्काइदेऊ भनेर दाइले फकाउनुभएछ ।

दाइले पटक-पटक त्यो बंगालीलाई फोन गर्नुभयो । त्यो फूलकुमारीलाई पनि मेरी बहिनी फर्कादे, तलाइर्ं केही गर्दिनँ भनेर फकाउनुभएछ । त्यसपछि एकदिन मलाई बंगालीले एक दिन फुलकुमारीसित कुरा गरायो । उसले बहिनी के छ खबर भनेर सोधी । मेरो हालखबर सबै तपाइर्ंलाई थाहा नै होला, तर मलाई जसरी भए पनि नेपाल झिकाइदिनु । तपाईंलाई केही हानि गर्दिनँ, कुनै दुःख दिन्नँ भनेर फकाएँ । त्यसपछि उनीहरूबीच कुरा भयो होला । बहिनीलाई पठायो भने दाइले अरू केटी पठाउँछ भनेर होला मलाई नेपाल फर्काइदिए । यो केटी बिरामी भएर २४ सय डलर खर्च लागेको भनेर साइन गर्न लगाएर फर्काए ।

रातको दुई बजे त्यहाँबाट हिँडेकी थिएँ । बिहान सात बजे एयरपोर्टमा पुगेँ । त्यो दिन पनि केही खान दिइएन । चैत १६ गते काठमाडौं आइपुगेँ । यता आएपछि दाइले हनुमानढोकामा रिपोर्ट गर्नुभयो । मैले पनि माइती नेपालमा रिपोर्ट गरेँ । सबै ठाउँमा गएँ, त्यसलाई समाउन । १०/१२ दिनपछि त्यो फूलकुमारीलाई पक्राउ गरियो । अहिले त्यो हनुमानढोकामा छे । मजस्तै अन्य केटी पनि लगेर उसले बेचेकी छे । दुई नेपाली केटीलाई त्यस्तो काम गर्न नमानेको भनेर कुटिरहेका थिए । बिचरा ! उनीहरू रगत छादिरहेका थिए । इराकमा दुई महिना २० दिन बसँे । बाचँुलीजस्तो लागेको थिएन । भगवान्ले पनि साथ दिए । इराकजस्तो देशमा मर्नु परेन ।

कोठामा थुनेर राख्दा आज मर्छु कि भोलि मर्छुजस्तो हुन्थ्यो । हामीले भनेको मान्छेस् भने तलाईं स्वर्ग हुन्छ, भनेको मानिनस् भने यहीँ कुहिन्छेस् भन्थे । फूलकुमारीले नमानेसम्म भात खानै नदिई त्यसरी नै थुनिराख भनेकी रहिछे । मारेपछि त्यहाँ ढलमा फाल्ने गर्दा रहेछन् । मेरो दाइ नभएको भए म मर्थें होला । दाइ र भगवान्ले गर्दा फर्किन पाएकी छु । अहिले माइती नेपालले मलाई सहयोग गरिरहेको छ । सात कक्षासम्म गाउँमा पढेकी थिएँ । घरको दुःखले गर्दा सानै उमेरमा विदेश जान भनेर काठमाडौं आएँ । दुईचोटिचाहिँ राम्रो भयो, यसपटकचाहिँ नराम्ररी फसेँ । प्रस्तुति : नवराज मैनाली,