विवाहित महिलालाई मानसिक पीडा बढी !

१५ जेठ, काठमाण्डौं । विवाहअघि परिवारको सहयोग र उपचार पाए पनि विवाहपछि मानसिक रोग लागेका महिला विभिन्न पीडा भोग्न बाध्य छन् । विवाहअघि वा पछि लागेको मानसिक रोग उपचार गर्नुको साट्टा घरबाट निकालिएका उदाहरण थुप्रै छन् । मानसिक रोग लागेपछि दोस्रो विवाह गर्न कानुनी छुट रहेकाले पनि महिला बढी पीडित भएका हुन् । उपचारै नगरी घरबाट निकालिएका र बलात्कृत महिला सडकमै सन्तान जन्माउन बाध्य छन् । बलात्कारी पहिचान हुँदासमेत उल्टै पीडित महिलालाई ‘बौलाही’को आरोप लगाइदै आएको पाइएको छ ।



हरिसिद्धिकी सीमा महर्जन (परिवर्तित नाम) को पाँच वर्षअघि चापागाउँमा विवाह भयो । तर, विवाहको एक वर्षपछि उनको मानसिक सन्तुलन गुम्यो । उपचारको साटो उल्टै उनलाई पीडा दिइयो । केही समयसम्म लगनखेलस्थित मानसिक अस्पतालमा भर्ना भएर उपचार गराएकी उनी अहिले घरमै नियमित औषधि सेवन गरिरहेकी छन् । त्यस्तै, काठमाडौं जोरपाटीकी समिताको झन्डै दुई वर्षअघि मागी विवाह भएको थियो । तर, त्यसको केही महिनामै उनमा टोलाउने, एक्लै बस्ने, झोक्राउनेजस्ता मानसिक असन्तुलतका संकेत देखिए । ‘बौलाएको’ भन्दै एक वर्ष नबित्दै उनका श्रीमान्ले दोस्रो विवाह गरे ।

समिता अहिले गैरसरकारी संस्थामा आश्रित छिन् । घर र माइती हुँदाहुँदै पनि उनी कतै जान चाहन्नन् । लगनखेलस्थित मानसिक अस्पतालका वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ मोहनराज श्रेष्ठ लाखे मानसिक रोग लागेपछि छोरीको विवाह गराउन गाह्रो हुने डरका कारण रोग लुकाएर विवाह गरिदिने गरेको बताउँछन् । ‘नियमित औषधि सेवन गरिरहेका बिरामीलाई समेत श्रीमान् र परिवारका सदस्यले थाहा नपाऊन् भनेर छुटाइने गरिएको पाइन्छ,’ उनले भने, ‘तोकेको समयसम्म औषधि खाएन भने समस्या झनै जटिल बन्दै जान्छ ।’

विवाहपछि जिम्मेवारी बढ्नाले समस्या झनै बढेको उनको दाबी छ । श्रेष्ठका अनुसार आधुनिकताका कारण पनि महिलामा मानसिक रोगको जोखिम बढ्दै गएको छ । ‘विवाह नगरी सँगै बस्ने क्रम सहरी क्षेत्रमा बढी छ,’ उनले भने, ‘केटा विवाह गर्न नमान्दा केटी परिवारसँग पनि भन्न नसक्नाले मानसिक समस्या देखिएका उदाहरण थुप्रै छन् ।’ मानसिक रोग क्षेत्रमा कार्यरत संस्था कोसिसकी महासचिव मीरा अर्याल मानसिक रोगीमा पनि महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताएको राजधानी दैनिकमा खबर छ । ‘मानसिक रोग लागेकी छोरी घरमा हुँदा सदस्यका रूपमा हेर्ने मान्यता छैन,’ उनले भनिन्, ‘मानसिक रोग लागेपछि महिला विवाह हुनुअघि भन्न डराउने गर्छन् । छोरीको विवाह गराउन नसकेको भन्दै बाबुआमालाई नै कमजोर सम्झिन्छ ।’मागीमा मात्र नभई प्रेमविवाहमा समेत लुकाएर विवाह गर्दा सम्बन्ध टुटेका देखिन्छन् । कतिपय विवाहपछि ‘निको हुन्छ’ भन्नेसमेत भ्रम देखिन्छ । रोग लुकाएर विवाह गरे पनि पत्तो पाएपछि अधिकांश घरबाट निकालिने गरेका छन् ।

कोसिसका अध्यक्ष मातृका देवकोटाले मानसिक रोग लागेका महिलालाई उपचारमा बढी समस्या रहेको बताए । ‘पुरुषलाई घरबाट निकाल्नेसम्मका घटना नभए पनि महिलालाई रोग थाहा भएपछि निकाल्ने गरेको पाइएको छ,’ उनले भने ।