फेसबुकमा सुन्दरीको झगडा !

१५ जेठ, काठमाण्डौं । फेसबुक आइडी चोरेर पेज बनाई सार्वजनिक बेइज्यती गरेको दाबी गर्दे प्रहरीसँग उपचार खोज्न पुगेका तीन सुन्दरीको झगडा प्रहरीको दबाबमा सहमतिमा टुंगिएको छ ।

फेसबुक आइडी चोरेर दुरुपयोग गरेको आरोपी रक्षा थापा विरुद्ध पूर्व मिस नेपाल माल्भिका सुब्बा र मोडल समृद्धि राईले सोमबार महानगरीय प्रहरी अपराध महाशाखामा कारबाहीको माग गर्दै उजुरी दिएका थिए ।



प्रहरीले अनुसन्धान र कारबाहीको साटो मिलापत्रमै दबाब दिएपछि मंगलबार बेलुका दुवै पक्षबीच सहमति भयो ।

राईले आफ्नो फेसबुक एकाउन्ट ह्याक गरेर ‘नेपालव्युटी क्विन कन्फेसन्स’ नाममा पेज बनाएर रक्षाले मानहानि गरेको दाबी गर्दै मंगलबार महाशाखामा उजुरी दिएको नागरिक दैनिकमा खबर छ ।

सोही पेजमा आफ्नाबारे जथाभावी सामग्री राखेर चरित्रहत्या गरेको भन्दै सुब्बाले पनि रक्षामाथि कारबाही माग गर्दै महाशाखामै उजुरी दिएकी थिइन् ।

सुब्बाका अनुसार समृद्धिका नाममा आएको आग्रह स्वीकार गर्दै पेज लाइक गरेपछि पेजमा अश्लील सामाग्री लेखिएको थियो । ‘समृद्धिलाई कारबाही गर्न प्रहरीमा उजुरी गर्छु भनेकी थिए,’ उनले भनिन् ‘पछि त उनको एकाउन्ट नै ह्याक भएको थाहा भयो ।’

फेसबुक पेजमा यी दुबैबारे मात्रै हैन सहाना बज्राचार्य, निशा अधिकारी, संयुक्ता तिम्सिना, सुमी मोक्तान, सृष्टि श्रेष्ठलगायतका बारेमा अश्लील सामग्री राखिएको थियो ।