पाकिस्तानको पेशावरमा सुरक्षाकर्मीमाथि आक्रमण १७ जनाको मृत्यु

पेशावर, असार १६, पाकिस्तानको पेशावर शहरमा सुरक्षाबलको समूहमाथि लक्षित गरि गरिएको शक्तिशाली बम विस्फोटनमा परि कम्तीमा १७ जना मानिसहरूको मृत्यु भएको छ । यस घटनामा अन्य २० जना घाइते भएका छन ।

बताइए अनुसार यो आईईडी विस्फोटन थियो । खैबर पख्तूनख्वाह प्रान्तको कोहाट जिल्लाबाट प्रान्तीय राजधानी पेशावर जाँदै गरेका फ्रन्टियर कोरको एक समूहलाइ लक्षित गरि विस्फोटन गरिएको थियो ।



पेशावरका अधिकारीले बताए अनुसार ‘रिमोर्ट कन्ट्रोलबाट गरिएको विस्फोटनमा परि १७ जना मानिसहरूको मृत्यु भएको छ । यस घटनाका घाइतेहरूलाइ लेडी रिडिङ अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये केहीको अबस्था गम्भिर रहेको अस्पताल सूत्रले जनाएको छ ।

प्रहरीका अनुसार, बमलाइ एक कारमा लगाइएको थियो, र जतिबेला फ्रन्टियर कोरको टोली पेशावरको बदबेर क्षेत्रबाट गैरहेको थियो, त्यस कारलाइ बिष्फोटन गराइएको थियो । विस्फोटन पछि आतंकवादीहरू तथा सुरक्षाबलका बिचमा गोलीबारी समेत भएको बताइएको छ । अहिले सम्म यस आक्रमणको जिम्मा कुनैपनि समूहले लिएको छैन ।

राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री नवाज शरीफले यस विस्फोटनको कटु आलोचना गरेका छन । यसै बीच दक्षिण वजीरिस्तानको कबाइली क्षेत्रमा भएको रकेट हमलामा परि दुइ जना मानिसहरू मारिएको कुरा अधिकारीहरूले जनाएका छन । यस घटनामा अन्य १२ जना मानिसहरू घाइते भएका छन । (एजेन्सी)