अमेरिकी बानामा भाँडभैलो, अन्यौलमा निर्वाचन

बाल्टिमोर - बाल्टिमोरमा रहेका नेपालीहरुको सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को नयाँ नेतृत्व चयन सम्बन्धी मिति नजिकिदै जाँदा आन्तरिक मतभेद पनि चुलिदैं गएको छ । अध्यक्षका प्रत्यासी मध्ये गौतम दाहाल र सतिश चापागाईंले बानाको वर्तमान नेतृत्वले निष्पक्ष निर्वाचनका लागि वातावरण सुनिश्चित नगरेको कारण देखाई सदस्यता नै नबुझाई निर्वाचन प्रक्रियाको निष्पक्षताको सुनिश्चितता गर्नुपर्ने भन्दै बाल्टिमोरका सबै स्थानीय संघ,संस्था र बाना निर्वाचन समितिलाई एक पत्र लेखेर जानकारी गराएपछि अहिले निर्वाचन प्रक्रिया नै अन्यौलमा परेको छ । यस्तो पत्रको बोधार्थ अमेरिकास्थित नेपाली राजदूतावास र वाणिज्यदूत प्रेमराजा महतलाई पनि इमेलमार्फत् प्रेषित गरिएको छ । वर्तमान नेतृत्व पक्षले आफूहरु विरुद्ध उठेको यो आवाजलाई नजरअन्दाज गर्दै एकोहोरो ढंगबाट मात्र अघि बढ्छ कि अध्यक्षका दुई प्रत्यासीले उठाएका विषयहरुलाई सम्बोधन गरेर अघि बढ्छ भन्ने अहिलेसम्म केही प्रष्ट छैन । यसैबीच बाना कार्य समितिको तर्फबाट थप गरी सार्वजनिक गरिएको सदस्यहरुको विवरणप्रति पनि दाहाल र चापागाईंले लिखितरुपमा दावी विरोध प्रस्तुत गरेका छन् । जसले गर्दा यही मार्च २४ तारिख हुन लागेको साधारण सभा र निर्वाचन प्रक्रिया नै के होला भन्ने अन्यौलको स्थिति उत्पन्न भएको छ ।

दाहाल र चापागाईंले लेखेको पत्रको पूर्ण विवरण जस्ताको तस्तै

मिति: मार्च १५,२०१३

श्रीमान् प्रमुखज्यू,
निर्वाचन समिति,बाना निर्वाचन २०१३


विषय : जानकारी सम्बन्धमा ।

हामीहरु बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका (बाना) को नयाँ नेतृत्व चयन प्रक्रियामा सहभागी भएको यहाँलाई अवगतै छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन प्रक्रियामा सहभागी भई हामीले नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयन दाखिला समेत गरिसकेका छौं । वर्तमान बाना कार्य समितिले सार्वजनिक गरेको सदस्यता नवीकरण र नयाँ सदस्यता सम्बन्धी पूर्व प्रकाशित सूचना अनुसार निर्वाचन हुनु दश दिन अघिसम्म सदस्यता लिईसकेका सदस्यले मात्र मतदान प्रक्रियामा भाग लिन पाउने विद्यमान विधानको व्यवस्था बमोजिम मार्च १३ तारिखसम्म सदस्यता वितरण गर्ने अन्तिम मिति तय गरेको थियो । तर वर्तमान कार्य समितिका अध्यक्ष विजय श्रेष्ठ आफैं अध्यक्षको प्रत्यासी भईसकेपछि निर्वाचनमा प्रक्रियामा प्रत्यक्ष संलग्न नहुन हामीले उहाँलाई आग्रह गरेका थियौं । अध्यक्षको प्रत्यासीको प्रतिष्पर्धी भईसकेको अवस्थामा उहाँले निर्वाचन सम्बन्धी प्रक्रियालाई सहयोग गर्नका लागि हामी समान हैसियतमा रही निर्वाचनलाई पारदर्शी र निष्पक्ष ढंगबाट सम्पन्न गर्न उपाध्यक्ष ओम तुलाचनलाई लिखितरुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर सहयोग गर्न र आफैं सदस्य बुझ्ने तथा अन्य गतिविधिमा संलग्न नहुन उहाँलाई आग्रह गरिएको यहाँलाई पनि अवगतै छ ।

मार्च १३ तारिख राती करीब ११.३० बजेको समयमा तपाई स्वयं सहभागी हुनुभएको अध्यक्ष विजय श्रेष्ठको निजी निवासमा भएको सदस्यता सम्बन्धी छलफलमा हामी अध्यक्षका उम्मेदवारद्धयको तर्फबाट राखिएको प्रस्ताव एकपटक यहाँ पुनः स्मरण गराउन चाहन्छौं ।

१. अध्यक्षको प्रत्यासीको रुपमा उम्मेदवारी मनोनयन गरिसकेपछि वर्तमान अध्यक्ष विजय श्रेष्ठले नैतिकरुपमा निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने गरी जिम्मेवारी बहन गरिरहनु उचित हुँदैन भन्ने सर्वव्यापी सामान्य प्राकृतिक सिद्धान्त हो । हामीले पनि यसै मान्यता अनुरुप अध्यक्ष श्रेष्ठलाई उपाध्यक्ष ओम तुलाचनलाई लिखितरुपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन आग्रह गरेका थियौं । तर यसबारेमा अध्यक्ष श्रेष्ठले सकारात्मक जवाफ दिएतापनि लिखित जिम्मेवारी दिनु भएन । उहाँको यी र यस्तै गतिविधिले अध्यक्षका प्रत्यासी मध्येका एक उहाँलाई विशेष सहुलियत प्राप्त हुने र आसन्न निर्वाचन परिणामलाई उहाँको संलग्नताले प्रत्यक्ष प्रभाव पार्ने कुत्सित नियत रहेको अर्थमा बुझ्यौं । २. निष्पक्ष र पारदर्शी ढंगले सदस्यता नवीकरण र नयाँ सदस्य दर्ताका लागि हामीले वर्तमान कार्य समितिका सदस्यता निर्देशक,निर्वाचन समितिका एक सदस्य र हामी अध्यक्षका उम्मेदवारद्धयका तर्फबाट समेत एक प्रतिनिधि सहित तीन सदस्यीय समिति गठन गरी जिम्मेवारी दिनका लागि गरेको प्रस्ताव र आग्रहलाई पनि अध्यक्ष विजय श्रेष्ठले बेवास्ता गरेपछि स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने ठहर गरी हामीले संकलन गरेका सदस्यहरुको विवरण नबुझाई फर्केको पनि प्रष्ट पार्न चाहन्छौं । उहाँले सहमति र विश्वासको वातावरण तयार नगरेपछि निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने आशयले निर्वाचनका लागि आफैं मतदाता संकलन र दर्ता गर्ने र आफ्नो अनुकूल संख्या थपघट गर्नसक्ने स्थिति देखियो । जसले गर्दा हामीले उहाँलाई सदस्यता फाराम बुझाउन सकेनौं ।

३. बिहान दश बजेदेखि सदस्यता फाराम बुझ्नका लागि आफुहरु बसेको तर राती करीब ११.४५ सम्म एक जनाले पनि सदस्यता नबुझाएको भन्दै वर्तमान कार्य समितिका आइ टी डाइरेक्टर महेश केसीले छलफलमा जानकारी दिएको र वर्तमान विधानमा उल्लेख भए बमोजिमको समय गुज्रिसकेपछि रातको करीब १२.०५ को समयसम्म पनि कसैले सदस्यता दर्ता नगराएको उपाध्यक्ष ओम तुलाचनले पनि छलफलमा जानकारी गराएको यहाँलाई पनि अवगतै होला । आफ्नै घरमा संकलन गरेर राखिएका सदस्यता फारामहरु दिनभर र राती १२.०० बजेसम्म पनि दर्ता नगर्नुको सोझो बुझाई भनेको निर्वाचन परिणामलाई निष्पक्ष र पारदर्शी हुन नदिने कुटिल चाल नै हो । हामीले सदस्यता दर्ता गरिसकेपछि मात्र हामीले बुझाएको त्यही सदस्यहरुको संख्याको आधारमा रातारात आफ्ना बढी सदस्यहरु दर्ता गर्ने र निर्वाचन आफ्नो अनुकूल बनाउने कुत्सित नियतमा अध्यक्षका प्रत्यासीको रुपमा उहाँको भूमिका रहने हामीले देख्यौं र सदस्यता बुझाउने औचित्य देखेनौं । पारदर्शी र निष्पक्षताको सुनिश्चितता नदेखिएको हुुनाले हामीले सदस्यता नबुझाएका हौं । यो प्रक्रियामा वर्तमान कार्य समितिका अध्यक्ष विजय श्रेष्ठ, जो आफैं पुनः निर्वाचनको प्रक्रियामा सहभागी हुनुहुन्छ, ले आफ्नो प्रत्यक्ष संलग्नता खोज्नु भनेको सिधा अर्थमा निर्वाचन र सदस्यता वितरण प्रक्रियामा आफ्नो अनुकूल निर्णय गर्न खोज्नु हो,जुन हाम्रा लागि मान्य छैन,हुने छैन । तसर्थ यसलाई हामीले विश्वासको वातावरण तयार गर्न नचाहेको अर्थमा बुझेका छौं । निर्वाचनलाई सुनियोजित ढंगले चुनाव परिणाम आफ्नो पक्षमा पार्न मात्र अग्रसर भएको अर्थमा बुझ्यौं । अध्यक्ष श्रेष्ठको संलग्नतामा पारदर्शी र निष्पक्ष निर्वाचन हुन नसक्ने हाम्रो ठहर हो ।

तसर्थ समाजको बृहत्तर हित र एकतामा आँच नपुग्ने गरी हाम्रो चिन्ता र चासोलाई समेत सम्बोधन हुने गरी मात्र निर्वाचन प्रक्रियाका बाँकी कार्यहरु अघि बढाई समाजमा अनुकरणीय कार्य गर्न अग्रसर हुन हामी तपाईंमार्फत् निर्वाचन समितिलाई आग्रह गर्दछौं ।

हामी सबैको चाहना निर्वाचनको रस्साकस्सी र प्रत्यक्ष राजनीतिक गतिविधिबाट समाजलाई मुक्त गराऔं भन्ने नै हो । तर यही प्रक्रियाबाट मात्र एकोहोरो अघि बढ्दा एकतर्फी र मनोमानी ढंगको चुनावका लागि चुनाव मात्र हुने स्थिति देखियो,जुन हाम्रो उद्देश्य होइन । आज समाजको बृहत्तर हित र एकताका लागि हामी सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । हामी सामुदायिक एकता र नेपाली समाजको सुदृढिकरणका लागि आम बाल्टिमोरवासी जनताको भावनाको उच्च सम्मान गर्दै अघि बढ्न सदा प्रतिवद्ध छौं । निष्पक्ष निर्वाचनको सुनिश्चितता र सबै पक्षको भावनालाई सम्बोधन हुने गरी निर्वाचन प्रक्रिया अघि बढ्नुपर्छ । हाम्रो ठहर हो, विश्वासको संकट पैदा भएको छ । जब विश्वासको संकट पैदा भईसकेको छ भने वर्तमान अध्यक्ष प्रत्यक्ष संलग्न प्रक्रियाबाट निष्पक्ष र पारदर्शी ढंगबाट कुनै काम हुन सक्दैन ।

यस्तो स्थितिमा हामी आग्रह गर्दछौं, समाजको बृहत्तर हित र एकता अनि भाइचारा सम्बन्ध कायम राखिराख्न संकटको यो स्थितिबाट सम्मानजनक समाधानको उचित वातावरण निर्माण गरी नयाँ नेतृत्व छान्ने प्रक्रियामा निर्वाचन समितिले महत्वपूर्ण भूमिका निर्वाह गरोस् । हाम्रा भावनाहरुलाई पनि उचित ढंगबाट सम्बोधन गर्ने गरी हामीलाई पनि यो प्रक्रियामा सहभागी बनाईदिने वातावरण तयार गर्नका लागि निर्वाचन समितिले आवश्यक सहयोग गर्नेछ भन्ने विश्वास लिएका छौं ।

भवदीय

गौतम दाहाल सतिश चापागाईं
अध्यक्षका प्रत्यासी अध्यक्षका प्रत्यासी
लगायत अन्य उम्मेदवारहरु

बोधार्थः

१. श्री विजय श्रेष्ठ ,अध्यक्ष तथा बाना कार्य समिति
२. श्री मोहन थापा,संस्थापक अध्यक्ष बाना
३. श्री कृष घिमिरे,पूर्व अध्यक्ष,बाना
४. श्रीमती रबिना थापा,पूर्व अध्यक्ष, बाना
५. सभापति,नेपाली जनसम्पर्क समिति,मेरिल्याण्ड च्याप्टर
६. अध्यक्ष,कास्की समाज,बाल्टिमोर
७. अध्यक्ष,म्याग्दी समाज,बाल्टिमोर
८. अध्यक्ष,पर्वत मोदी काली समाज,बाल्टिमोर
९. अध्यक्ष,नासो कम्युनिटी
१०. अध्यक्ष,ग्रेटर वासिंगटन तमु समाज
११ . अध्यक्ष,मगर समाज बाल्टिमोर
१२. अध्यक्ष,नेवा अर्गनाईजेशन अफ अमेरिका
१३. अध्यक्ष,पास पुचःअमेरिका
१४. अध्यक्ष,ग्लोबल एजुकेशनल,कल्चरल एण्ड लिटररी सोसाइटी,गेल्सा
१५.अध्यक्ष,नापाक
१६. अध्यक्ष,आइएलएनएस मेरिल्याण्ड
१७. अध्यक्ष,ह्युरन अमेरिका
१८. अध्यक्ष,तनहुँ अमेरिका सोसाइटी
१९. अध्यक्ष, भूतपूर्व गोरखा सैनिक संघ
२०. अध्यक्ष,बाल्टिमोर एथलेटिक्स टीम
२१. अध्यक्ष,नेपलिज बाप्टिष्ट चर्च
२२. अध्यक्ष,युएनडिएफ बाल्टिमोर ।
२३. महामहिम राजदूत, नेपाली राजदूतावास,वासिंगटन डिसी
२४. श्री प्रेमराजा महत (वाणिज्यदूत)
२५. अध्यक्ष,नेपाल एशोसियसन फर ग्लोबल को अपरेशन एनएजीसी मेरिल्याण्ड