बाबुराम ! मलाई बचाऊ!- (निर्दोष नेपाली अम्बर) दुबईको जेलमा निर्दोष नेपालीको क्रन्दन कसले सुन्ने ?

काठमाडौं । दार्चुला धारी-५ का अम्बरबहादुर बम । गरिबीले पढ्नसमेत नसकेपछि पैसा कमाउने उपाय खोज्दै दुबईसम्म पुग्नुभयो । तर, एउटा आपराधिक समूहको फन्दामा परेपछि कमाइ त भएन नै, जवानीसमेत दुबईको जेलमा बिताउनुपरेको छ । १० वर्षदेखि बिनाकसूर जेलको चिसो छिँडीमा बसिरहेका बम दिनरात घरपरिवार सम्झेर रुनुहुन्छ । जेलबाहिर निस्कन उहाँले लाख बिन्तीभाऊ गरिसक्नुभयो । रुँदारुँदा आँखामा आँसु पनि रित्तिसके ।

परिवारको अवस्था पनि यस्तै छ । छोरा जेलमा परेको खबर सुनेर आमाको हृदयघातले निधन भयो । बिहे गरेको २६ दिनमै छोडेर गएका श्रीमान र्फकने बाटो हेर्दाहेर्दै १० वर्षमा श्रीमती धनिशाको आँखा टट्टाइसके, जवानी नै सिद्धिन लागिसक्यो । निर्दोष अम्बरलाई छुटाउन राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, परराष्ट्र मन्त्रालयका प्रवक्ता, मानवअधिकारवादी लगायत कसको दैलो चाहारेन पीडित परिवारले ? तर, उनीहरुले अहिलेसम्म आश्वासनबाहेक केही भेट्टाएनन् । को हुन् अम्बर ? दार्चुला धारी ५ का अम्बर गरिब परिवारमा जन्मेका एकजना सोझा र इमान्दार व्यक्ति हुनुहुन्छ । कक्षा ३ मा पढ्दापढ्दै स्कूल ड्रेस किन्ने पैसासमेत नभएपछि उहाँ कामको खोजीमा गाउँ पारिको भारतीय बजार पुग्नुभयो । धारी गाउँका अन्य नेपालीले झैं महाकाली नदीको अप्ठेरो तुईन वारपार गरेर जीवन धान्ने उपाय खोज्नुभयो । यताउता गर्दागर्दै गाडीमा खलाँसीको काम थाल्नुभयो । खलाँसी गर्दागर्दै गाडी चलाउन पनि सिक्नुभयो । गाडी चलाउन सिकेपछि अलि बढी पैसा कमाउने आशमा उहाँ भारतको दिल्ली पुग्नुभयो । गाउँका धेरै कामका लागि जाने ठाउँमा पनि दिल्ली नै हो । त्यहाँ एउटा मार्बल फ्याक्ट्रीमा अम्बरले गाडी चलाउने काम पाउनुभयो । झण्डै एक वर्ष अम्बरले त्यहाँ काम गर्नुभयो । दिल्लीदेखि दुबईसम्म दिल्लीमा कार्यरत रहँदा अम्बरको सोझो र इमान्दारीपनलाई दुईजना भारतीय शंकास्पद व्यक्तिले प्रयोग गर्न खोजे । मनोज मुडाना र करनसिंह राजपूत नामक दुई भारतीयले अम्बरलाई दुबईमा काम गर्न जाऔं भन्दै दिल्लीमा भन्दा धेरै पैसा पाइने लोभ देखाए । अम्बरलाई पनि हो किजस्तो लाग्यो । त्यसपछि पासपोर्ट बनाउन भनेर उहाँ घर जानुभयो । घरको जेठो छोरो भएकाले पासपोर्ट बनाउन घर आएकै बेला बिहे गरेर जाने सल्लाह भयो । गाउँकै बा-आमा नभएकी ‘टुहुरी’ धनिशासँग अम्बरको बिहेबारी भयो । बिहे गरेको २६ दिनमै हनिमुन पनि राम्रोसँग मनाउन नभ्याई श्रीमती र घर परिवार छोडेर अम्बर दिल्ली पुग्नुभयो । अनि मनोज र करनसिंहको साथमा उहाँ दुबई पुग्नुभयो । जेलको यात्रा दुबईमा पनि अम्बरले चालककै रुपमा काम गर्नुभयो । त्यहाँ पुगेको दुईचार दिनमै मनोज र करनसिंहले ‘इन्डियन सोसल क्लव’ अम्बरलाई लिएर गए । मनोज र करनसिंह चढेको गाडी अम्बरले नै चलाउनुभएको थियो । क्लवमा भारतीय मात्रै जान पाउने भएकाले अम्बरलाई गाडीमै बस्न भनियो । भारतीय दुईजना क्लबभित्र पसे । एकैछिनमा उनीहरु हतारिँदै बाहिर निस्केर गाडीमा चढे । अनि बस्ने ठाउँमा नगई अर्कै होटलतिर जान भने । होटलमा पुगेपछि मनोज र करनसिंहले आफूहरुले क्लबमा मान्छे मारेर आएको बताए । कुरा सुनेपछि अम्बरलाई छाँगाबाट खसेजस्तै भयो । उनीहरुले तँ भाग्, हामीलाई जे पनि हुनसक्छ भने । तर, बबुरो अम्बरको बिरानो देशमा जाने ठाउँ कहीँ थिएन, त्यसैले उनीहरुसँगै होटलमै बस्नुभयो । पहिलेदेखि नै आपराधिक काममा लगेका मनोज र करनसिंहले त्यहाँबाट भाग्ने उपाय खोजे । अन्ततः पानीजहाज चढेर सिरिया जाने क्रममा दुबई प्रहरीले उनीहरुलाई पक्राउ गर्यो । साथमा अम्बर पनि पक्राउ पर्नुभयो । भारतीय शरद सेठ्ठी भन्ने व्यक्तिको हत्याको अभियोग उनीहरुलाई लाग्यो । मनोज र करन सिंहले आफूहरु हत्यामा संलग्न रहे पनि अम्बर निर्दोष रहेको बताए । अम्बरले पनि धेरै रोईकराई गर्नुभयो । तर, उहाँको क्रन्दन कसैले सुनेन । सन् २००३ मा पक्राउ परेका तीनै जनालाई दुबई हाईकोर्टले मृत्युदण्डको सजायँ सुनायो । छुटाउने पहल हत्यामा संलग्नहरुले समेत अम्बरलाई निर्दोष भनेपछि उहाँलाई छुटाउन दुबई र नेपालबाट समेत धेरै पहल भयो । दुबई नेपाल समाजका अध्यक्ष कृष्ण ढकालले जेलमा पुगेर पनि ठूलै प्रयास गर्नुभयो । पक्राउ परेका भारतीय अभियुक्तहरुले अम्बर निर्दोष नै भनेर लिखित बयान पनि दिए । तर, दुबई सरकारले कुरा सुनेन । त्यसपछि नेपालमा अम्बरका बुबा, पत्नी, आफन्त र साथीभाइ काठमाडौंसम्म आएर पहल गरे । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत पुग्नुपर्ने सबै ठाउँमा पुगे । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अम्बर निर्दोष रहेकाले छुट्ने र सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो । तर, निर्दोष पतिको जीवन रक्षाका लागि रुँदै बिन्तीभाउ गरेकी धनिशालाई केही हुन्न, छुट्छन् भनेर प्रधानमन्त्री भट्टराईले आश्वासन दिएको वर्ष दिन हुन लाग्यो । सरकारबाट अझै केही पहल भएको छैन । ‘यो सरकारले केही गर्ला भन्ने आश मरिसक्यो’ अम्बरको जीवन रक्षाका लागि पहल गर्दै आएका राजेन्द्र कुँवरले भन्नुभयो ।
परिवारको बिजोग पैसा कमाउन गएको छोरो जेल परेको खबर सुन्नेबित्तिकै बेहोस भएकी अम्बरकी आमाको होस नखुल्दै निधन भयो । अम्बरका बुबा ७५ बर्षीय कर्णबहादुर बम पनि छोराको बाटो हेर्दाहेर्दै थाकिसक्नुभयो । भारतमा काम गर्ने कान्छो छोरोले जेनतेन पठाउने एकदुई हजारले घर धान्न मुश्किल छ । १० वर्षदेखि श्रीमानको बाटो हेरेर बसेकी धनिशाले जताततै अँध्यारो मात्र देख्नुहुन्छ । म अब बाँच्दिन भनेर उहाँ कतिपटक महाकाली नदीमा हाम्फाल्न खोज्दा मानिसहरुले बचाएका छन् । ‘माइत जाऔं कोही छैन, घरमा न श्रीमान, न छोराछोरी ।’-रुँदारुँदै आँखा गडिसकेकी धनिशा भन्ने गर्नुहुन्छ । अम्बरको परिवारबारे डकुमेन्ट्री बनाएका राजेन्द्र कुँवर भन्नुहुन्छ ‘धनिशालाई आधुनिक युगकी सीता भन्दा हुन्छ, बिहे गरेको २६ दिनमा छाडेको लोग्नेलाई १० वर्षसम्म प्रतिक्षा गरिरहेकी छन्, उनको जवानी नै गुज्रन लागिसक्यो ।’ अम्बरको सपना भर्खर बिहे गरेकी श्रीमती र घरका अरु परिवारलाई छोडेर हिँडेका अम्बरको हालत पनि उस्तै छ । सपनामा तिनै टीठलाग्दी श्रीमती, मृत्यु भएकी आमा, बुढा बाबुको झल्को आइरहन्छ । घर नजिकै बगेको महाकाली नदी र गाउँका अरु ठाउँको याद आइरहन्छ । सपनामा आफूलाई छुटाउन सरकार र नेताहरु आउने गरेको अम्बरले देख्ने गर्नुहुन्छ । बिपनामा साँच्चै यस्तो देख्ने दिन उहाँको कहिले आउला ? सरकारको ध्यान बेलायतमा पक्राउ परेका कुमार लामातर्फ गइरहेका बेला निर्दोष नेपाली अम्बरलाई छुटाउन सरकारले केही गर्नुपर्दैन ? के गर्दैछ दुबईस्थित नेपाली दूताबास ?