रेडक्रस सोसाइटी नुवाकोटमा आगलागी, चार जना घाइते

१७ फागुन, नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोटको कार्यालयमा गएराती आगलागी हुदाँ तीन लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । कार्यालयमा रहेका महत्वपूर्ण कागजात पनि जलेका छन् । आगलागीबाट तीन प्रहरीसहित चार जना घाइते भएका छन् । रेडक्रस भवनमा रहेको निर्वाचन आयोग नुवाकोटको महत्वपूर्ण कागजात पनि जलेर नष्ट भएको छ ।



आगो लागेको समयमा कोठामा सुतिरहेको निर्वाचन कार्यालयका कम्युटर अप्रेटर मदनकुमार शाहलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । आगो निभाउन गएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी हवल्दार अवजेश कुमार झा, प्रहरी हवल्दार चन्द्रलाल श्रेष्ठ र प्रहरी जवान सागर तामाङ पनि घाइते भएका छन् ।



आगोबाट निर्वाचन सम्बन्धी महत्वपूर्ण कागजात, ल्यापटप, कम्युटर, क्यामरालगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो पाँच घण्टापछि आज बिहान नियन्त्रणमा आएको थियो । आगलागीको कारण विद्युत सर्ट भएर हुन सक्ने अनुमान प्रहरी गरेको छ ।