ढुंगाले किचेर कामदारको मृत्यु, होली खेल्दा छतबाट खसेर गम्भीर घाइते
इलाम, चैत १३ (नागरिक)- इलामको मंगलबारे गाविसमा सडक खन्ने क्रममा ढुङ्गाले किचेर एक कामदारको ज्यान गएको छ। सडक खन्दै गर्दा माथिबाट आएको पहिरोले पुर्दा पाँचथरको पौवासारताप-२ का २४ वर्षीय राजकुमार लिम्बूको मृत्यु भएको प्रहरीले बताएको छ।
पहिरोमा ढुङ्गाले किचेर घाइते लिम्बूको उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका विजय राईले जानकारी दिए। यता, होली खेल्ने क्रममा घरको छतबाट सडकमा खसेर एक युवा गम्भीर घाइते भएका छन्। सदरमुकामस्थित ठूलो टुँडिखेलनजिकैको घरको छतबाट खसेर सुनसरीको बेलगछियाका राजु शाह घाइते भएका हुन्। उनको जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि विराटनगरस्थित न्युरो अस्पतालतर्फ लगिएको प्रहरीले बताएको छ।