त्रिविमा विज्ञान विषयमा चार वर्षे स्नातक सुरु


त्रिभुवन विश्वविद्यालयले यसै वर्षदेखि विज्ञान विषयमा चार वर्षे स्नातक तहको कार्यक्रम सुरु गरेको छ। विश्वविद्यालयको शिक्षालाई समयानुकूल र गुणस्तरीय बनाउने लक्ष्यका साथ विज्ञान सङ्कायतर्फ यसै वर्षदेखि चार वर्षे स्नातक तहको कार्यक्रम सञ्चालनमा ल्याइएको हो। त्रिविले यसै वर्षदेखि सुरु गरेको विज्ञान विषयतर्फको चार वर्षे स्नातक तहको पहिलो वर्षको पाठ्यक्रम तयार भई कक्षासमेत सञ्चालन भइसकेको र अन्य वर्षको पाठ्यक्रम पनि यही चैत महिनाभित्र ल्याइसक्ने गरी तयारी गरिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयका सहायक डिन चेतराज भट्टले जानकारी दिए। त्रिविले विज्ञान विषयबाट थालेको चार वर्षे स्नातक तहको कार्यक्रम सबै सङ्कायमा लागू गर्ने तयारीसमेत गरिरहेको छ। सहायक डिन भट्टका अनुसार विज्ञान विषयअन्तर्गतका केन्द्रीय विभागका प्रमुखहरुको अध्यक्षतामा गठन हुने विषय समितिले पाठ्यक्रमको संरचना तयार गरिरहेको छ।