प्रधानमन्त्रीले जाँड खाए, गोडा धुन दिएनन्

२३ मंसिर, कैलाली । जनताको घरमा बास बस्ने अभियान अन्तर्गत कैलालीको टीकापुर स्थित मुक्तकमैया शिविर पुग्नुभएका प्रधानमन्त्री बाबुराम भट्टराईले मुसाको अचार, ढिकरी र जाँ

ड खानुभयो । टीकापुर नगरपालीकाको विजयनगरका बाबुराम चौधरीको घरमा बस्नुभएका प्रधानमन्त्रीलाई थारु परम्परा अनुसार स्वागत सत्कार गरिएको थियो । प्रधानमन्त्रीलाई दिन तयार पारिएको जाँड देखेर उहाँले भन्नुभयो ‘मलाई मदिरा पिउने बानी छैन् तर, सम्मानको लागि एक घुट्को लिन्छु ।’ मुसाको अचार पनि प्रधानमन्त्रीले मिठो मानेर खानुभयो । थारु परम्परा अनुसार आफ्नो घरमा आउने पाहुनाहरुका लागि मुसाको चटनी, जाँड तथा ढिकरीको परिकार खुवाउने र खुट्टा धोएर ढोग्ने चलन रहेको छ । सोही परम्पराअनुसार बाबुरामको परिवारले प्रधानमन्त्रीको स्वागत गरेपनि उहाँले खुट्टा धोएर ढोग्न भने मान्नुभएन । ‘यो सामन्ती संस्कार चाहिं मलाई नगराउनुस’ भन्दै खुट्टा धुन दिन भट्टराईले अस्वीकार गर्नुभएको थियो ।
प्रधानमन्त्री भट्टराईको स्वागतका लागि पुरै मुक्त कमैया बस्तीका बासिन्दा २ दिनदेखि नै खानपान र बसोबास व्यवस्थापनका लागि जुटेका थिए । ‘मुक्त कमैया शिविरमा प्रधानमन्त्री आउनु भनेको सवै कमैयाको घरमा आउनु जस्तै हो’ भन्दै उनीहरुले प्रधानमन्त्रीको स्वागत गरेका थिए । साँझ खानपानसँगै प्रधानमन्त्रीले मुक्त कमैयाका गुनासाहरु पनि सुन्नुभएको थियो ।