काठमाडौ, पुस १६ - वेलायती महिला शिला एन्डरसेन राजधानीका धुलाम्मे सडक चहार्दाचहार्दै फतक्कै गलिसकिन । एकैछिन बसेर कुरा सुन्ने हो भने उनको मन शरीरभन्दा धेरै गुना थलिएको बुझ्न सकिन्छ । महिनौं यहाँका अजिर सरकारी निकाय धाएर उनमा आस जागेन । र, सहानुभुतिशील व्यक्तिहरुले पनि केही गर्न सकेनन् । महिला हिंसासम्बन्धी मुद्दामा जागरुक बन्न राज्यमाथि दबाब परिरहेको वर्तमान माहौलमा चाहिँ उनी आफ्नो पीडा सार्वजनिक गर्न चाहन्छिन् ।
शिलाले गत भाद्र १३ गते नेपाल बाल संगठनको बाल मन्दिरबाट एक पाँच वषर्ीया दृष्ट्रिहीन बालिकालाई विधिवत धर्मपुत्री बनाइन । धर्मपुत्री बनाउने सरकारी प्रक्रियाकै क्रममा उनलाई एउटा घोर शंकाले घेर्यो । ती बालिकामाथि बालमन्दिरभित्रैका कसैले यौनदुराचार गरेको हुनसक्ने अवस्था खुल्न आयो । गैरसरकारी संस्था सिविसको पहलमा उनलाई त्रिवि स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको विधिविज्ञान विभागमा स्वास्थ्य परीक्षणका लागि पठाइयो । विभागले वालिकाको गोप्यअंगमा घातक आक्रमण भएको रिपोर्ट दिंदै घटनाक्रम हेरेर 'कारण पत्ता लगाउन सकिने' भन्यो । साथमा अदालतमा आवश्यकताअनुसार प्रस्तुत भएर परीक्षणका नतिजा प्रस्टयाइने गत जेठ २४ गतेको उक्त रिपोर्ट (कान्तिपुरसँग सुरक्षित) मा उल्लेख छ ।
यति हुँदाहुदै पनि यो घटनासम्बन्धि जानकारी प्रहरीकहाँ तत्काल कसैले दिन चाहेको देखिदैन । अनाथ असाह्यहरुको आश्रयस्थल बालमन्दिरका जिम्मेवारहरुकै पहलमा यो घटना आजसम्म दबाइएको शिला दाबी गर्छिन् । कानुनले घटना दबाउने वा त्यस्तो प्रयास गर्ने बाह्रय पक्षलाई समेत दोषी मान्छ ।
यतिखेर केही कानुन व्यवसायीहरुको सहयोगमा शिला सर्वोच्च अदालत पुगेकी छिन् । विभिन्न विशिष्ट अवस्थाका कारण तोकिएको हदम्यादभित्र उजुरी गर्न नसकेको हुनाले कानुनी उपचारको बाटो खुलाउन उनले निवेदन गरेकी छिन् । 'मलाई अब प्रहरीले म्याद नाघेकाले उजुरी दर्ता गर्न नसकेको लिखित जानकारी दिनुपर्नेछ । सर्वोच्चले त्यो मागेको छ । लाग्छ, यसमा चाहिँ म दुख पाउन्न होला,' उनले थपिन् ।
लण्डनको एउटा प्राथमिक विद्यालयकी शिक्षिका शिला दृष्ट्रिविहीन बालिकाको निर्दोषिताबाट भावुक हुँदै उनलाई छोरी बनाउन भनेरै डेढ वर्षअघि नेपाल आएकी थिइन् । करिब एक वर्ष कुरेर त्यो काम पूरा गरिन । लगत्तै उनको संघर्ष सुरु भयो, आफ्नी धर्मपुत्रीमथि भएको अपराधको कानुनी हिसाव खोज्ने ।
'म एउटा साधारण महिला हुँ । मेरी छोरीमाथि भएको अन्यायविरुद्ध लड्ने असाधारण धैर्यता मसँग छ,' उनले भनिन् । 'चाहन्छु, मेरो छोरीले छैठौं जन्मदिन यही जनवरीमा मनाउँदा न्यायिक उपचारको बाटो खुलिसकोस् ।' नेपाल बसाइका क्रममा थुप्रै महिला र बालबालिका हिंसाका घटनाबारे सुनेकी शिलाले आफू विदेशी, त्यसमाथि महिला भएकै कारणले पनि आफूमाथिको सुनुवाई ढिलो भएको हुनसक्ने अनुमान गर्छिन् । 'नेपालमा लड्दालड्दै मसँग पैसा पनि सकिदैछ । तर छोरीको अनुहार हेरेर म हरेक पल्ट साहस बटुल्छु,' भन्छिन् ।
'माइ नेम इज शिला........,' धर्मपुत्रीले बेला बेला आफूलाई रत्याउन खोज्दै गाउने हिन्दी गीत सम्झदै उनी आफ्नै पाराले गाउँछिन् ।