पीएचडी गर्न गएका युवक पनि ठगिए

१५ पुस, काठमाण्डौं । वैदेशिक रोजगारीको नाममा गाउँका सोझासाझा अशिक्षित र निरक्षरलाई प्रलोभनमा पारी ठग्नु नौलो कुरा होइन् । तर स्नातकोत्तर गरेका युवा पनि विदेश पठाउने अनुमति नै नलिएका संस्थामार्फत विद्यावारिधि र आकर्षक रोजगारीमा जाने सम्झौता गरी ठगिएको पाइएको छ ।

मोटो रकम लिएर दलाल भागेपछि त्यस्ता युवा अलपत्र परेका हुन् । ‘वैदेशिक रोजगार विभागमा हाल दैनिक झन्डै १० वटा ठगी सम्बन्धी उजुरी आउँछन्, तर वैदेशिक रोजगार र विदेश अध्ययन गर्न पठाउन अनुमति नै नलिएका संस्थालाई ‘हचुवाको भरमा रकम बुझाई ठगिएँ’ भन्दै उजुरी दर्ता गर्न आउने शिक्षित युवा देख्दा दुःख लाग्यो,’ विभागका निर्देशक योगराज बरालले भने ।

गत असोज २५ गते गजुरी ६, बैतडीका धर्मानन्द भट्टले ठगिएको भन्दै विभागमा उजुरी दर्ता गरेका थिए । ‘आकर्षक रोजगारीसहित विद्यावारिधि गर्न फिलिपिन्स जाने सम्झौतामा त्यहाँ गए पनि त्यहा एक महिना वित्दासमेत रोजगारी नपाएको भन्दै उनी फकेर आएका रहेछन्,’ बरालले भने । उनले भने ‘शिक्षित वर्ग नै आँखा चिम्लेर झोले संस्था तथा अपरिचितमार्फत अवैधानिक रुपमा विदेसिन्छन् भने सर्वसाधारणको अवस्था कति दयनिय होला ?’ कारोबार दैनिकमा खबर छ । भारतबाट स्नातकोत्तर तह पास गरेका भट्टले बागबजारमा रहेको सचदेवा कलेजका सञ्चालक समिरजंघ कार्कीसँग फिलिपिन्स जाने सम्झौता गरी ४ लाख ७० रुपैयाँ बुझाएका थिए ।