यसपटक तीजमा गहना प्रदर्शन कम

असोज, काठमाडौं । वर्ष दिनमा एकपटक आउने तीज । अरुबेला आआफ्नै कामधन्दाले बाहिरफेर निस्कन त्यत्ति फुर्सद नहुने महिलालाई यो बेला धक फुकाएर नाचगान गर्ने मन हुन्छ । नयाँ साडी र गरगहनामा ठाँटिने मौका पनि यही हो । तीजको बेला सकेसम्म शिरदेखि पाऊसम्म गहनाले झरिझुट्टै भएर नाच्न महिलाहरु मन पराउँछन् । तर यसपटक त्यस्तो देखिएन ।

दिनप्रतिदिन सुनको भाऊ पनि बढ्दै गएको र चोरी हुने डर पनि उत्तिकै भएका कारण महिलाहरुमा गहनाप्रतिको मोह केही घटेको हो । ‘पोहोर परारसम्म गहना चोरीका घटना हुन्थे, तर यसपटक यस्तो देखिएको छैन’ पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम वैद्यले भन्नुभयो । त्यसो त कोषले हरेक वर्ष बहुमूल्य गहना लगाएर नआउन महिलाहरुलाई आहृवान गर्ने गरेको छ । यसपटक पनि कोषले यस्तै आग्रह गर्यो । ‘हामीले आग्रह गरेपनि केहीले भने बहुमूल्य गहना लगाउने गर्छन्’ वैद्यले भन्नुभयो-’तर यसपटक यो प्रवृत्ति कम भएको छ ।’

केही केहीले बहुमूल्य गहना लगाएको देखिएपनि धेरैले भने गहना प्रदर्शन नगरेको वैद्यले बताउनुभयो । पशुपति बाहेक अरु ठाउँमा भेला भएका महिलाहरुले पनि गहना प्रदर्शन कम मात्रै गरेका छन् । छड्के तिलहरी लगाएपनि कान र नाकमा सुनका गहना देखिँदैन । ‘यसपटक भाऊ बढेर पनि गहना प्रदर्शन गर्ने प्रवृत्ति कम भएको हुन सक्छ’ पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नरोत्तम बैद्यले भन्नुभयो ।

भाउले ६० हजार नाघेपछि सुनको कुरा सुन्ने बित्तिकै धेरैले जिब्रो टोक्ने गरेका छन् । त्यसैले भएकाहरु पनि सुन लगाएर हिँड्न डराएका छन् । नयाँ किन्ने आँट त धेरैले गर्नै सकेका छैनन् । ‘अहिले सुनको कारोबार हुने सिजन हो, तर कारोबार झण्डै ठप्प छ’ नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव माणिकरत्न शाक्यले भन्नुभयो -’पहिले जस्तो यसवर्ष तीजमा सुन कारोबार भएन ।’ भएकाले पनि लगाउन डराएको र नभएकाले किन्न नसकेको कारण यसवर्ष तीजमा गहना प्रदर्शन कम भएको हो ।

स्वास्थ्यलाई मौसमको साथ

तीजमा निराहार व्रत बस्ने चलन छ । कतिले त पानी पनि पिउँदैनन् । दिनभर केही नखाई नाच्दा धेरैजना बिरामी पनि हुन्छन् । पोहोर परार पशुपति दर्शन गर्न जाने धेरैजना बेहोस भएर लड्ने गर्थे । तर यसपटक यस्तो घटना भएको छैन । ‘हामीले मूल गेटदेखि ठाउँठाउँमा स्वास्थ्य शिविर राखेका छौं, तर गम्भीर बिरामी भएका घटना अहिलेसम्म छैन’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव नरोत्तम बैद्यले भन्नुभयो ।

यसपाली मौसमका कारण दर्शनार्थीलाई सहज र सुविधा भएको हो । झमझम पानी परेको पनि छैन । घाम पनि लागेको छैन । पोहोर परार घाम र गर्मीका कारण दर्शनार्थी बढी बिरामी हुने गर्थे । ‘यसपटक मौसमको कारणले होला दर्शनार्थीलाई समस्या छैन’ वैद्यले भन्नुभयो-’अघिल्ला वर्षहरुमा जस्तो बिरामी हुने समस्या देखिएन ।’