नाइजेरियाली पत्नी दोराठी र छोरासाथ घर फर्किए कान्छा तामाङ

पुस दोस्रो साता कान्छा तामाङ रसुवा राम्चेस्थित घरमा पुग्दा सानोतिनो मेला नै लाग्यो। कामका लागि विदेशिएका कान्छा पत्नी दोराठी तामाङ र छोरा भरोसा लिएर फर्केका थिए। २८ वर्षे कान्छाले बिहे गरेको भन्ने गाउँलेलाई थाहै थिएन। त्यो पनि रिठ्ठाजस्तो नाइजेरियाली काली दोराठीसँग।



दुई वर्षको उनको छोरा पनि आमाकै फोटोकपीजस्तो छ। ‘एकै पटक पत्नी र छोरासाथ गाउँ पुग्दा धेरै छक्क परे,’ काठमाडौंमा भेटिएका कान्छाले भने। पहिलोपटक नेपाल आएकी दोराठीले भनिन्, ‘बाटोमा हिँड्दा पनि मानिस मलाई नै हेरिरहेका हुन्छन्, अप्ठ्यारो लाग्दो रहेछ।’

सन् २००९ मा कामका लागि कान्छा नाइजेरिया पुगेका थिए। उनले काम गर्ने लेबनानी निर्माण कम्पनीमै काम गर्थिन दोराठी अजेका ओयोनो । कान्छालाई दोराठी मन पर्‍यो । उनले बिहेको प्रस्ताव राखिहाले । त्यसले दोराठीलाई धर्मसंकटमा पार्‍यो । स्वीकार्ने कि नस्विकार्ने ?

गोरो चटक्क परेको ह्यान्डसम केटा, तर न जात मिल्छ, न भाषा। कान्छासँग भेट्नुअघिसम्म उनलाई विश्वमा नेपाल भन्ने देश छ भन्ने थाहासमेत थिएन। ‘माउन्ट एभरेस्ट विश्वकै अग्लो हिमाल हो भन्ने पढेको थिएँ, तर कुन देशमा पर्छ भनेर थाहा थिएन,’ उनले भनिन्। उनले बीचको बाटो अपनाइन्। हुन्छ वा हुँदैन केही भनिनन्। त्यस विषयमै कुरा नै गरिनन्। ‘छ महिनापछि उनले मेरो प्रेम प्रस्ताव स्वीकार गरिन्,’ कान्छाले भने। कोर्ट म्यारिज गरे।

कान्छालाई त समस्या भएन। तर दोराठीकी आमाले आपत्ति जनाइन्। उनलाई जात न धर्मको आफूले सुन्दै नसुनेको देशको केटासँग छोरीको सम्बन्ध मन परेन। ‘बुबा र दाजुभाइले भने आपत्ति गरेनन्,’ दोराठीले भनिन्। नेपाल जस्तै नाइजेरिया पनि पुरुषप्रधान देश हो।

नेपालमा केटी पक्षले बिहेका लागि खर्च गर्नुपर्छ तर नाइजेरियामा भने त्यस्तो छैन। ‘केटीतिरको मानिसलाई भोज खुवाउनुपर्छ,’ कान्छाले भने, ‘केटी पक्ष सक्षम छ भने केही थप्ने हो। नत्र केटा एक्लैले खर्च गर्नुपर्छ।’

बिहे भएको तीन वर्ष हुन लाग्यो, कान्छा अहिलेसम्म ससुराली गएका छैनन्। ससुराली नाइजेरियाको पूर्वी भागमा क्यामरुन छेउमा पर्ने रिभरक्रस राज्यमा पर्छ। त्यो ओयोनो समेतले चिनिन्छ। ओयोनो नदीले क्यामरुन र नाइजेरियालाई छुट्याएको छ। त्यस क्षेत्रमा बस्नै सबै ओयोनो लेख्छन्। आदो भाषा बोल्छन्। कान्छा कसरी पुगे त लागोस्?

उनको वृत्तान्त कुनै फिल्मको कहानीभन्दा कम छैन।

भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |