चिकित्सकको लापरबाहीले यौन क्षमता गुम्यो

नेपालगन्ज, - अण्डकोषको शल्यक्रिया गर्नुअघिसम्म ३० वर्षीय खिमबहादुर विकमा कुनै पनि यौनसमस्या थिएन । तर शल्यक्रियापछि उनको यौन क्षमता पूरै गुमेको छ । 'बाच्नु न मर्नुजस्तो भयो,' बाँके कोहलपुर ८, पिपरीका विकले भने, 'पत्नीसामु जाँदा मरेतुल्य हुन्छु ।'



अप्रेसनका बेला चिकित्सकले नसा जथाभावी काटिदिएकाले लिंग सुक्दै र खुम्चदै गएर यस्तो अवस्थामा पुगेको उनले बताए । क्षमता गुमेपछि विक करिब २ वर्षदेखि मानसिक तनावमा छन् । अण्डकोषमा सामान्य खटिरा आएपछि उपचारार्थ यहाँस्थित वैष्णवी अस्पताल तथा रिसर्च सेन्टर पुगेका विकलाई ०६८ पुस ५ गते मूत्ररोग विशेषज्ञ तथा सर्जन सुरेशकुमार नागले 'अण्डकोषमा पानी जमेको छ' भन्दै अप्रेसन गरेका थिए । चिरेपछि पानी नभएको पाइएकाले सिलाएर घाउ सुक्ने औषधि लेखे । अप्रेसन शुल्क ४ हजार ५ सय पनि फिर्ता गरे ।

'घाउसँगै लिंग सुक्दै र यौन शक्ति हराउँदै गयो,' पहिलेको अवस्था गुमाएर शक्तिविहीन भएका विकले दोस्रो पटक सल्लाह लिन जाँदा डाक्टरको भनाइ उद्धृत गर्दै भने, 'यो कुरा कसैलाई नभन्नु । औषधि खाँदै जानु ठीक हुन्छ ।' तर समस्या झन् बढ्यो । तेस्रो पटक डा. नागले विकलाई लखनऊ रिफर गरे । त्यहाँबाट पनि समस्या समाधान भएन । फर्केर टिचिङ अस्पतालमा जचाए । 'त्यहाँबाट पनि पुराना कुरा बिर्सनु भन्दै फिर्ता गरे,' विकले भने ।

भारतको दिल्लीस्थित डा. राममनोहर लोहिया अस्पतालका चिकित्सकले गलत अप्रेसन भएको बताएका छन् । तर लेखेर दिन नसक्ने उनीहरूले जवाफ दिएका छन् । उपचारमा निकै खर्च भएको छ । धेरै चिकित्सकले यस्तो समस्याको उपचार नेपालमा असम्भव भनेका छन् । उपचार सम्भाव नदेखेपछि विकले बुधबार चिकित्सकविरुद्ध प्रहरीमा उजुरी गरेका छन् । त्यसअघि प्रशासनमा पनि उजुरी गरेका थिए । अप्रेसनमा संलग्न सर्जन तथा मूत्ररोग विशेषज्ञ नागले हार्मोनको कमी र मानसिक कारणले उक्त समस्या आएको हुन सक्ने बताएका छन् । उनले आफूबाट कुनै त्रुटि नभएको दाबी गरे । अप्रेसन गरेको भने उनले स्वीकारे । 'अलिकति खोलेर हेरौं भनेर अप्रेसन गरेको हो,' डा. नागले भने, 'अण्डकोषमा पानी रहेनछ । एक/दुई थोपा मात्र आयो ।' बिरामीमा पहिलेदेखि नै त्यस्तो समस्या रहेको हुन सक्ने उनको शंका छ ।

ती युवा यसअघिसम्म यौन सम्पर्कमा कुनै कठिनाइ नहुने गरेको बताउँछन । विक २ सन्तानका बाबु हुन् । अहिले पत्नीसामु निकै लाचार हुनु परेको बताउँछन् । 'मनभित्र चाहना जाग्छ, तर के गर्ने ?' प्रहरी प्रशासन र दर्जनौं अस्पताल धाउँदै हिँडेका विकले भने, 'मेरो समस्या कसैले सुन्दैनन्, बुझ्दैनन् ।'