प्रचण्डद्वारा नोबेल शान्ति पुरस्कारको अपेक्षा ,'विश्व समुदायले हेप्यो, बधाइ दिनुबाहेक केही गरेन'

१४ जेठ, नुवाकोट । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई अन्तराष्ट्रिय नाबेल शान्ति पुरस्कार दिन सरकारले निवेदन दिएपनि नोबेल पुरस्कार नपाई कोइरालाको निधन भइसकेको छ । तर, अहिले शान्ति सम्झौतामा कोइरालासँगै हस्ताक्षर गरेका एमाओवादी अध्यक्ष प्रचण्डले आफूलाई नोबेल पुरस्कारको दाबेदारका रुपमा प्रस्तुत गर्नुभएको छ ।



प्रचण्डले विश्व समूदायले आफूलाई हेपेको दुखेसो पोख्नुभएको छ । आफू र काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला मिलेर शान्ति प्रक्रिया, नयाँ निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको भए पनि अन्तर्राष्ट्रिय जगतले अनौपचारिकरुपमा बधाइ दिए पनि औपचारिक रुपमा केही नगरेको उहाँले दुखेसो गर्नुभयो । एकीकृत माओवादी नुवाकोटले मंगलबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो,-’युरोपमा भएको भए हाम्रोजस्तो काम गर्नेलाई नोबेल पुरस्कार दिइसकिन्थ्यो । तर, हामीलाई विश्वले नै हेपिरहेको छ, बधाइ दिनुबाहेक उनीहरु केही गर्दैनन् ।’

एमाओवादी अध्यक्ष प्रचण्डले १० वर्षे जनयुद्ध, शान्तिप्रक्रिया हुँदै पहिलो संविधानसभाको निर्वाचन सम्पन्न गरिसकेको भए पनि बन्द कोठाभित्र बधाइ दिनेबाहेक अरु केही नगरेको बताउनुभयो । कार्यक्रममा प्रचण्डले भन्नुभयो,-’गिरिजाबाबु र म मिलेर शान्ति प्रक्रिया एवं संविधानसभाको निर्वाचन गराएर देशलाई शान्तिको बाटोमा ल्यायौं । शान्ति प्रक्रियामा हस्ताक्षरकर्ता गिरिजावाबु हुनुहुन्न, हस्ताक्षर कर्ता म जीवितै भए पनि विश्वले अपमान गरिरहेको छ ।’ युरोपतिर भएको भए नोवल पुरस्कार दिइसकिन्थ्यो ।’

निर्वाचनमा एमाओवादीको दुई तिहाई बहुमत नआएकै कारण संविधानसभा विघटन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई दुई तिहाई बुहमत नदिएकै कारण संविधासभाको अवसान भयो । काँग्रेस एमालेलाई पनि तपाईहरुले विरोध गर्न पर्याप्त मत दिनुभयो । त्यसैले संविधान जारी नै नभई संविधान सभा विघटन भएको हो । अब हामीलाई दुईतिहाई बहुमत दिनुहोस् ।’

गणतन्त्र दिवसमा चुनावको मिति तोकिने दाबी

यसैवीच प्रचण्डले मंगलबार बिहान मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसंगको भेटमा चुनावको मिति गणतन्त्र दिवसका अवसरमा तोक्ने विषयमा छलफल भएको र सकेसम्म भोलि नै चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभयो ।

प्रचण्डले आन्दोलनरत नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य , मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव,संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसंग आफ्नो छलफल भइरहेको र उहाँहरु निर्वाचनमा आउन सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वैद्यजी र उपेन्द्रजीसंग मैले छलफल गरिरहेको छु । उहाँहरु पनि निर्वाचनकै पक्षमा हुनुहुन्छ । उहाँका जायज मागलाई सम्बोधन गरेर भए पनि निर्वाचनमा ल्याउनुपर्छ ।’