पौने ९ करोडका बिजेता पराजुली भेटिए

२४ वैशाख, काठमाण्डौं । कतार ड्युटी फ्री सपको १० लाख अमेरिकी डलर विजेता डिल्लीराम पराजुली कतारमै कार्यरत नेपाली नागरिक भएको पुष्टि भएको छ । पुरस्कार घोषणा भएको निकै दिनसम्म उनको पत्तो नलाग्दा एकजना नेपालीले पाएको करोडौं रुपैयाँ गुम्ने हो कि भन्ने आशंका बढेको थियो ।



तर, उनी पुरस्कार दाबी गर्न गइसकेका छन् । सन् १९९९ देखि कतारमा कार्यरत साधारण श्रमिक डिल्लीरामले जितेको रकम प्राप्त गर्न कतार एयरवेजको र ड्युटी फ्री कार्यालयमा सम्पर्क गरी सबै सक्कली कागजात बुझाइसकेका छन् । तर, राहदानीको हस्ताक्षर र हालको हस्ताक्षरमा फरक परेपछि उनी गत साता दोहास्थित नेपाली दूतावास पुगेका थिए । दूतावासबाटै सन् २००४ मा राहदानी नवीकरण गराएकाले उनी सो प्रमाणीकरण गर्न आएको राजधानी दैनिकमा खबर छ ।

नेपाली मिडियाले आवश्यकभन्दा बढी प्रचार गरेकाले फेसबुकसमेत बन्द गर्न बाध्य भएको गुनासो गर्दै पराजुलीले आङ्खनो घर–ठेगाना सार्वजनिक नगरिदिन अनुरोध गरेका छन् । साधारण परिवारमा जन्मेका डिल्लीरामले स्वदेश फर्कने क्रममा विमानस्थलको बोर्डिङ गेटबाट पछाडि फर्केर ड्युटी फ्रीतिर हेर्दा १० लाख अमेरिकी डलर लेखेको ठूलो बोर्ड देखेपछि चिट्ठा किनेको बताएका छन् ।

आफुले पहिलो पटक किनेकै चिट्ठा परेको पनि उनले खुलाए । जितेको पैसा के गर्ने भन्ने योजना नबनाएका पराजुलीले थपे, ‘हालसम्म प्रक्रियामै छ, रकम प्राप्त भएपछि मात्रै योजना बनाउँछु ।’ उनले यसभन्दा बढी आङ्खनो विवरण सार्वजनिक गर्न मानेनन् ।