ट्राफिक प्रहरी नै चढ्छन नक्कली प्लेटका गाडीमा

२४ वैशाख, तनहुँ । सवारी साधन कारर्वाहीको अधिकार पाएको ट्राफिक प्रहरीले नै नक्कली प्लेट प्रयोग गरेर गाडी चलाएको फेला परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले प्रयोग गर्दै आएको ग १ च. ३९८९ नम्बरको गाडी नक्कली नम्बर प्लेट राखेर चलाएको पुष्टि भएको हो ।



तनहुँ सतिश्वारा ९ का कूल बहादुर थापाले एक महिना अघि यातायात व्यवस्था कार्यालय गण्डकीबाट बाग्मतीमा स्थानान्तरण गरेको गाडीको नम्बर राखेर ट्राफिक प्रहरीले महेन्द्रा एण्ड महेन्द्रा कम्पनीको बलेरो पिक अप जीप प्रयोग गर्दै आएको हो । कार्यालय प्रयोजनका लागि सवारी साधन आवश्यक परेका माथिल्लो निकायमा जानकारी गराउदाँ अनुसन्धानका लागि राखेको गाडी दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख भेषराज रेग्मीले बताएको नागरिक दैनिकमा खबर छ ।

यातायात व्यवस्था कार्यालय भेरीको नम्बर प्लेटमा झण्डै एक महिना अघि जिल्ला भित्रिएको भ्यानलाई ट्राफिक प्रहरीले गण्डकीको ग.१.च. ३९८९ नम्बर राखेर प्रयोग गर्दै आएको थियो । उक्त नम्बरको गाडीको स्वामित्व भएका कूल बहादुर थापाले भने २०६९ चैत्र १५ गते यातायात व्यवस्था कार्यालय गण्डकीबाट चलानी नं. ३०५२ को सहमती पत्र लिएका थिए । ‘कामको व्यस्तताले तत्कालै नम्बर फेर्न काठमाण्डौ जान पाइन्’ उनले भने, ‘यता सहमती पत्र बुझेको केही दिनमै प्रहरीले मेरै गाडीको नम्बर हालेर कुढाउन थालेछ ।’ थापाले खरिद गरेको चाइनाको जोप्यो कारमा उनले २०७० बैशाख ३ गते यातायात व्यवस्था कार्यालय बाग्मतीबाट बा १० च. ६१६१ नम्बर कायम गराएका थिए ।