सरकारले चुनावको मिति र ऐनका विषयमा ३३ दलसँग छलफल गर्ने

२२ चैत, काठमाण्डौं । सरकारले विगठित संविधानसभामा रहेका दलहरुसँग छलफल गर्ने भएको छ । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनको मिति, ऐन र त्यसको तयारीका बिषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।



बैठकमा असारमा निर्वाचनको सम्भावाना, निर्वाचन आयोगले पठाएको अध्यादेश लगायतका विषयमा छलफल हुनेछ । निर्वाचन ऐनमा गरिएको समानुपातिक सिटको नयाँ व्यवस्थामा साना दलहरुले आपत्ति जनाएपछि सरकारले त्यसमा दलहरुको धारणा बुझन बैठक बोलाएको सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।



सरकारले निर्वाचनका लागि आयोगले सिफारिस गरेको ऐन नियममा छलफल गर्न विघठित संविधानसभामा रहेका सबै दललाई बोलाइएको पौडेलले बताउनुभयो । मस्यौदाका प्रावधानमा दलहरुसँग छलफल गरेपछि त्यसको सुझावका आधारमा राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको तयारी छ । आयोगले संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०६९ र निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६९ सरकारलाई बुझाएको छ ।



प्रस्तावित अध्यादेशमा उम्मेदवारको योग्यता र समानुपातिक सिट प्राप्त गर्न कम्तीमा एक प्रतिशत मत ल्याउनुपर्ने विषयमा सरकारले दलहरुको धारणा बुझ्ने तयारी गरेको छ । बैठक विहान ११ बजेपछि सिंहदरबारमा बस्नेछ ।