डुंगा पल्टिँदा दुई बालिकाको मृत्यु

सन्तोष पोखरेल, पोखरा, चैत २२ - कास्की लेखनाथस्थित बेगनास तालमा डुंगा पल्टिँदा दुई बालिकाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। आठ यात्रुसहितको डुंगा बुधबार दिउँसो हावाहुरीले तालमा डुबेको थियो।






बेपत्ता हुनेमा पोखरा-१० रामबजाारका २० वर्षीय प्रकाश गुरुङ, १९ वर्षीया सुष्मा गुरुङ र ३५ वर्षीया पुष्पा गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता रविन्द्र पौडेलले जनाए। डुंगा पल्टिँदा डुबेकामध्ये दुई वर्षीया इभिना गुरुङ र तीन वर्षीया अनुस्का गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्युभएको हो। पौडेलका अनुसार मृत्यु भएका दुवै बालिका बेपत्ता सुष्माका छोरी हुन्।

स्थानीय र प्रहरीले तालमा डुबेकाको खोजी गरिरहेका छन्। डुंगासँगै डुबेका पाँच जनाको जिवितै उद्धार गरिएको थियो। ९ वर्षीय कुमार गुरुङ, २० वर्षीय रिता गुरुङ, १३ वर्षीय सिम्रन गुरुङ र बालिकाद्वय इभिना र अनुष्काको जिवितै उद्धार गरिएको थियो।

उद्धार गरिएकामध्ये कुमार गुरुङले मात्र लाइफ ज्याकेट लगाएको प्रहरीले जनाएको छ। उनको लाइफ ज्याकेटमा समाएर रिता र सिम्रन तैरिरहेको अवस्थामा स्थानीय र डुंगा व्यवसायीले उद्धार गरेका थिए। 'इभिना र अनुष्कालाई पनि कपडाका कारण पानीमा तैरिरहेको अवस्थामा उद्धार गरिएको रहेछ,' उनले भने, 'तर पछि ज्यान गयो।

प्रहरीका अनुसार उनीहरू १२ जनाको समूहमा पिकनिक गएका थिए। चार जना तालबाहिरै बसेका थिए भने अन्य डुंगा खियाउँदै तालको मध्यसम्म पुगेका थिए। 'एक्कासि हावाहुरीसहित भिषण वर्षा भएपछि डुंगाले सन्तुलन गुमाएर डुबेको रहेछ,' प्रहरी प्रवक्ता पौडेलले भने, 'लाइफ ज्याकेट नलगाउँदा यस्तो घटना हुन पुग्यो। लाइफ ज्याकेटकै कारण तीन जनाको ज्यान बच्यो।' बेपत्ताको खोजी जारी रहेको डाँडाकोनाक चौकीका प्रहरी निरीक्षक विमल उपाध्यायले बताए। 'समयमै उद्धार भएकाले तीन जनाको ज्यान जोगियो,' उनले भने। बेगनास तालमा पोहोर यस्तै घटनामा तीन जनाको मृत्यु भएको थियो।

लाइफ ज्याकेट नलगाउँदा खतरा

बेगनास मात्र होइन, पोखराको फेवातालमा पनि डुंगा डुब्ने घटना बर्सेनि हुन्छन्। लाइफ ज्याकेट नलगाएकै कारण तालमा डुबेर बर्सेनि ५-६ जनाको ज्यान जाने गरेको प्रहरी बताउँछ। 'तालमा डुबेर मर्नेको संख्या बढिरहेको छ, यो सबै हेलचेक््रयाइँले गर्दा हो,' उनले भने, 'लाइफ ज्याकेट नलगाई डुंगा चढ्न नदिने नियम बनाउँदैछौं।'

फेवा डुंगा व्यवसायी समिति अध्यक्ष बुद्धिबहादुर नेपाली पनि हताहती लाइफ ज्याकेट नलगाउँदाको परिणाम भएको बताउँछन्। 'तालमा जानेले लाइफज्याकेट लगाउनुपर्ने हो,' उनले भने, 'सबै सचेत हुने हो भने यस्तो क्षति हुँदैन।' फेवामा एउटा डुंगामा ५ जना मात्र चढ्न पाइने भए पनि धेरै चढ्दा धान्न नसकेर डुब्ने गरेको उनले सुनाए।