जिविस योजना अधिकृत निवासमा विष्फोट

मिथिलेश यादव, लहान, चैत २२ - सिरहा जिल्ला विकास कार्यालयका योजना अधिकृत सुरेश राउतको सरकारी निवासमा मध्यरात ज्वलनशिल विष्फोटक पदार्थ विष्फोट गराइएको छ। विष्फोटक पदार्थ फ्याँके लगत्तै सानो आवाजसहित आगलागी भएको थियो।

आगलागीले निवासबाहिरको पर्दा, कुर्सी लगायत सामानमा समान्य क्षति पुगेको तल्लो तलामा सुतका लेखा अधिकृत जयकुमार कटुवालले वताए। घटनाको जिम्मेबारी लिदै तराई कम्युनिष्ट पार्टीका मिथिला डेपुटी कमाण्डर भास्कर मुक्तिले जिल्ला विकासमा लुट मच्चाएर मधेश विकासको रकममा लुट मच्चाएको, राजिनामा गर्न भन्दा नगरेकोले चेतावनीस्वरुप यो घटना गराइएको सञ्चारकर्मीलाई बताए।

घटनापछि सिरहावासीमा त्रास फैलिएको छ। शुक्रबार राति पनि यही समूहले एलडिओ विजयराज सुवेदीको सरकारी निवासमा विष्फोट गराएका थिए। उक्त घटनामा फर्निचर लगायतका समान जलेको थियो। घटनाका बेला काठमाडौँ रहेका एलडिओ सुबेदी अहिलेसम्म कार्यस्थलमा फर्केका छैनन्।

घटना जिल्ला प्रहरी कार्यालय नगर प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको बीचमा भएको हो। एलडिओ निवासमा भएको घटनामा संलग्नलाई पहिचान गरिसकिएको र छिटै पक्राउ पर्ने सिरहा प्रहरीले बताउँदै गर्दा दोस्रो घटना भएको छ।

सिरहा प्रहरीले घटना सामान्य भएको जनाएको छ। घटनास्थलमा प्रहरीको उपस्थित बाक्लो बनाइएको छ।