हतियार फिर्ता गर्न माओवादीलाई सरकारको आग्रह

२२ चैत, काठमाण्डौ । माओवादी नेताहरुको सुरक्षाका लागि लगेका ३२ थान हतियार फिर्ता गर्न सरकारले आग्रह गरेको छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा विहीवार विहान बसेको मन्त्रिपरिषदको वैठकले वैशाख मसान्तसम्म हतियार फिर्ता नगरे गैरकानुनी हुने भन्दै हतियार फिर्ता गर्न आग्रह गरेको हो । लडाकूको सेनामा समायोजन हुँदा एकीकृत माओवादीले शीर्ष नेताहरूको सुरक्षाका लागि भन्दै ३२ थान हतियार लगेका थिए ।

वैठकले लडाकू रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धि विशेष समितिको सुझावका आधारमा हतियार सरकारलाई बुझाउन आग्रह गरेको हो । यस्तै वैठकले माओवादी लडाकूको शिविर रहेको जग्गालाई नेपाली सेनाको महानिर्देशनालय मातहत ल्याउनका लागि कार्यदल गठन गरेको सूचना तथा सञ्चामन्त्री एवम् सरकारका प्रवक्ता माधव पौडेलले जानकारी दिनु भयो ।

कार्यदलमा प्रधानमन्त्री कार्यलयका सचिवसहित गृह, रक्षा, शिक्षा, शान्ति, कृषि र वन मन्त्रालयका सदस्य छन् । यस्तै वैठकले अन्तर्राष्ट्रिय मुद्राकोषलाई तिर्नुपर्ने ७ करोड १ लाख डलरमध्ये २ करोड १४ लाख डलर तत्काल नेपाल राष्ट्र बैँकमार्फत उपलब्ध गराउने निर्णय समेत गरेको छ । प्रवक्ता पौडेलका अनुसार वैठकले जलवायु कोषका लागि विश्व बैँक मार्फत १ करोड ५० लाख डलर ऋण र १ करोड ६० लाख डलर अनुदान स्वीकृति लागि अर्थ सचिवलाई अख्तियारी समेत दिएको छ ।