वैद्यले पनि अन्ततः पछ्याए प्रचण्डकै नक्कल ,पदीय लडाइँमा दुबै माओवादी बराबर

५ बैसाख, काठमाडौं । प्रचण्ड र बाबुराम भट्टराई कम्युनिष्ट आदर्शबाट विचलित भएको भन्दै गतसाल साउनमा नयाँ पार्टी गठन गरेका मोहन वैद्य किरणले पनि अन्ततः आफ्नो पार्टीभित्र प्रचण्डकै नक्कल गर्न थाल्नुभएको छ ।

कार्यकर्तालाई थुम्थुम्याउन मोहन वैद्यले पनि प्रचण्डलेजस्तै केन्द्रीय कमिटी विस्तार गर्ने रणनीति ल्याएपछि वैद्य र प्रचण्डको संगठनात्मक कार्यशैलीमा समानता नदेखिएको हो ।



पछिल्लो समय कार्यकर्तालाई सन्तुष्ट पार्न एमाओवादीले ठूलो संख्यामा बैकल्पिक केन्द्रीय सदस्य थप्ने योजना सुनाएजस्तै वैद्य नेतृत्वको नेकपा माओवादीले पनि कार्यकर्ताहरु एमाओवादीतिर नफर्कुन् भन्ने ध्येयले १ सयभन्दा बढीलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।

‘केन्द्रीय समिति विस्तारित भएको छ, पहिले ४३ सदस्यीय थियो, अब १ सय ५१ सदस्यीय भएको छ ।’ नेकपा माओवादीका केन्द्रीय सदस्य महेश्वर दाहालले अनलाइनखबरसँग भन्नुभयो- ‘थपिएका केन्द्रीय सदस्यहरुसहित ९ गते विस्तारित केन्द्रीय समितिको बैठक बस्छ ।’ दाहालका अनुसार वैकल्पिक केन्द्रीय सदस्यहरु थपिए पनि पूर्ण केन्द्रीय सदस्यको सीट खाली नै रहेकोले आगामी बैठकले त्यसलाई पूर्ति गर्नेछ ।

पार्टी विभाजन हुँदा ४३ केन्द्रीय सदस्य वैद्यपक्षीय माओवादीमा रहेका थिए । गत पौष २५ मा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सातौं महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति बनाउने म्यान्डेट दिए पनि ३ सयको हाराहारीमा आकांक्षीहरु देखा परेपछि पुरानै ४३ सदस्यलाई कायम राखी ८ जनापछि थप्ने निर्णय गरिएको थियो । यसवीच ४३ मध्ये तीनजना सदस्य एमाओवादीमा छिरेपछि केन्द्रीय समिति ४० को संख्यामा झरेको थियो ।

हालै सम्पन्न वैद्य माओवादीको केन्द्रीय समिति बैठकले मनोनयन गर्ने निर्णय गरेपछि पार्टीभित्र विवाद देखिएको छ । महाधिवेशनको नीति विपरीत आफैभन्दा ठूलो संख्यामा केन्द्रीय समिति विस्तार गर्न नहुने भन्दै पार्टीभित्र विवाद बढेको स्रोतले दाबी गर्यो ।

विवाद सामान्य हो : प्रवक्ता भुसाल

केन्द्रीय कमिटी विस्तारबारे पार्टीमा देखिएको विवाद सामान्य रहेको र यो सहजरुपमा समाधान हुने माओवादी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई बताउनुभयो । ‘केही साथीहरुमा सामान्य असन्तुष्टि देखिनु सामान्य कुरा हो, सभाधानै नहुने समस्या पार्टीभित्र छैन ।’-उहाँले भन्नुभयो- ‘सँगैका समकालीन साथीहरु कमिटीमा पर्दा नसमेटिएका साथीहरुले प्रश्न उठाउनुलाई अन्यथा मान्न सकिँदैन ।’

प्रवक्ता भुसालले केन्द्रीय कमिटी विस्तार पार्टी विधान र महाधिवेशनको म्यान्डेट विपरीत नभएको दाबी गर्नुभयो । ‘पूर्ण केन्द्रीय समिति थपिएको हैन, यो ५१ सदस्यीय नै रहन्छ, तर बैकल्पिक सदस्यमात्रै थपिएका हुन्, जसको समतिमा भोटिङ गर्ने अधिकार हुँदैन ।’ उहाँले भन्नुभयो- पहिले पार्टी एकीकृत भएका बेला प्रचण्डकै कमिटीमा ल्याउने प्रस्ताव गरिएका साथीहरुलाई हामीले ल्याएका छौं, यसमा विवाद गर्नुपर्ने कारणै छैन ।’

पार्टीमा १० वर्षदेखि जिम्मेवारी पाउन नसकेका साथीहरुलाई वैकल्पिक केन्द्रीय कमिटीमा थप गरिएको र नेतृत्व विकासको बाटो खोल्नुपर्ने आवश्यकताका कारण यस्तो निर्णय लिनुपरेको भुसालको तर्क छ ।