सरकार चार दलको सल्लाहअनुसार चलेको छैन : रेग्मी

५ बैशाख,। अन्तरिम चुनाबी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आफ्नो सरकारले चार दलीय संयन्त्रको सल्लाह नमानेको र संयन्त्रको काम कारवाहीअनुसार सरकार नचलेको बताउनुभएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापासँग बुधबार सिंहदरबारमा भएको भेटमा रेग्मीले यस्तो बताउनुभएको हो । अध्यक्ष थापाले चार दलीय संयन्त्रको सिन्डिकेट हटाउन र अन्य दललाई पनि संयन्त्रमा समेट्न माग गरेपछि रेग्मीले चार दलको सल्लाहमा सरकार नचलेको बताउनुभयो ।


भेटबारे स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार थापाले रेग्मी सरकारलाई आफ्नो तर्फबाट सहयोग रहने बताउँदै निश्पक्ष चुनाव गर्न आग्रह गर्नुभएको थियो । असारमा चुनाव गर्ने चार दलसँग सहमति भएको हो कि हैन भन्ने बारेमा पनि थापाले रेग्मीसँग जिज्ञासा राख्नुभएको थियो । जवाफमा रेग्मीले असारमा चुनाव हुने कुनै सहमति नभएको भन्दै चुनाव मंसिरभित्र हुने थापालाई स्पष्ट पार्नुभएको थियो ।

रेग्मी चार दलसँग असन्तुष्ट

यसैवीच बुधबार नै कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि अध्यक्ष रेग्मीसँग भेटवार्ता गर्नुभएको छ । भेटमा रेग्मीले निर्वाचन प्रक्रियामा असहमत दलहरुलाई वार्तामा ल्याउन चारदलीय संयन्त्रले प्रभावकारी भूमिका नखेलेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको स्रोतले अनलाइनखबरलाई बतायो । ‘असन्तुष्ट दलहरुलाई निर्वाचनको प्रक्रियामा ल्याउन सरकारले वार्ताको आह्वान गरिसकेको छ, तर उनीहरुलाई मनाउन तपाईहरुले विशेष भूमिका खेलेकोजस्तो देखिएन ।’-अध्यक्ष रेग्मीले कांग्रेस नेताहरुलाई भन्नुभयो ।

कांग्रेस नेताहरुले भने बाहिर जस्तो हल्ला चले पनि सरकारको काम कारवाहीबाट आफूहरु पूर्ण सन्तुष्ट रहेको रेग्मीलाई बताएका थिए । साथै अध्यक्षको आग्रहअनुसार असन्तुष्ट दलहरुलाई निर्वाचनको प्रक्रियामा ल्याउन आफूहरुले सक्रियातापूर्वक पहल गर्ने कांग्रेस नेताहरुले प्रतिवद्धता जनाएको स्रोतले बताएको छ ।

अध्यक्ष रेग्मी र दलका नेताहरुवीच भएको भेटबारे रेग्मीका प्रेस सललाहकार विमल गौतमले पुष्टि गर्नुभएको छ । ‘उहाँहरुवीच छुट्टाछुट्टै भेटवार्ता भएको छ ।’ गौतमले भन्नुभयो-’भेटमा दुबै दलका नेताहरुले निर्वाचन सफल पार्न सक्रियतापूर्वक लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।’

झण्डा हल्लाउँदै नेताको दैलोमा

अध्यक्ष रेग्मीले आफ्नो सरकार चारदलका नेताहरुको सल्लाहमा नचलेको र निष्पक्ष रहेको बताउनुभए पनि केही मन्त्री भने एकाबिहानै नेताका घर-घरमा झण्डा हल्लाउँदै पुग्ने गरेका छन् । कांग्रेसको कोटामा मन्त्री बनेका भनिएका उर्जामन्त्री उमाकान्त झाले मंगलबार बिहानै कांग्रेस उपसभापति रामचन्द्र पौडेलको निवासमा झण्डा हल्लाउँदै पुगेर गोप्य कुराकानी गर्नुभएको थियो ।