२५ रुपैयाँ पर्ने भर्ना फाराम हजारसम्म असुल्दै स्कूल
काठमाडौं, चैत ६ - नयाँ बिद्यार्थी भर्ना सम्बन्धी मापदण्ड शिक्षा सचिव सोम सुवेदी अध्यक्ष भएको विद्यालयले नै उल्ङघन गरेको छ। सचिव विद्यालय संचालक समिति अध्यक्ष रहेको बुढानिलकण्ठ स्कुलले नयाँ विद्यार्थी भर्ना फारम शुल्क १ हजार रुपैयाँ तोकेको छ। जबकि सरकारले चैत १ देखि जारी गरेको संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिकाले २५ रुपैयाँ मात्रै लिन पाउने व्यवस्था गरेको छ।
सर्वोच्च अदालतले गत जेठमा नयाँ विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले भर्ना फारम २५ रुपियाँ, परीक्षा शुल्क १ सय र एक पटक तोकिएको शुल्क तीन वर्षसम्म नबढाउन सरकारका नाममा आदेश दिएको थियो। त्यसै आधारमा शिक्षा मन्त्रालयले निर्देशिका लागु गरेको हो।
बुढानिलकण्ठ स्कुलले चैत २ देखि स्कुलको वेवसाइटमा कक्षा ५ को भर्नाका लागि आवेदन आब्हान गरेको छ। सरकारको नीति विपरित विद्यालयले शुल्क लिएकामा अभिभावकहरुले दुःख ब्यक्त गरेका छन्।
भतिजीका लागि भर्ना गराउन बुढानिलकण्ठ पुगेका चितवनका केशवराज पौडेलले फारम शुल्क १ हजार देखेपछि दुखी भए। उनले नेपाल प्रहरी उच्च माविमा पनि भर्ना फारम भर्न खोजे। त्यहाँको शुल्क पनि ५ सय रुपैयाँ छ। उक्त विद्यालयका संरक्षक नेपाल प्रहरीका प्रमुख कुवेरसिंह राना हुन्।
‘शिक्षा नीति बनाउने मन्त्रालयका सचिव अध्यक्ष रहेको बुढानिकण्ठ र कानून पालना गराउने प्रहरी प्रमुख रहेको प्रहरी स्कुललेनै कानून र अदालतको निर्देशन विपरित शुल्क उठाइरहेका छन्’, पौडेलले नागरिकसँग भने, ‘अभिभावकको थाप्लोमा जताबाट पनि आर्थिक भार थोपर्ने काम हुँदा सरकार मौन हुनु दुर्भाग्य हो।’
अर्की अभिभावक सुजिता केसीले छोराका लागि सानेपाको शुभतारा स्कुलमा फारम लिन ५ सय रुपैयाँ तिरेको सुनाइन्। काठमाडौं उपत्यकाका शुभतारा, पाठशाला नेपाल, पारागन, बृहस्पति लगायत विद्यालयहरुको भर्ना फाराम शुल्क ५ सय रुपैयाँ छ। शैनिक आवासिय मावि भक्तपुर र सेन्टमेरिज स्कुलको फाराम शुल्क ३ सय ५० रुपैयाँ छ। बुढानिलकण्ठका प्रिन्सिपल नारायण शर्माले सरकारले नयाँ भर्ना फाराम र परीक्षा शुल्क गरी १ सय २५ तोके पनि परीक्षा संचालन गर्न बढी खर्च लाग्ने भएकाले हजार रुपैयाँ लिएको बताए।
‘विद्यार्थीको प्रबेश परिक्षा संचालनदेखि कापि परिक्षण र नतिजा प्रकाशन सम्मको खर्च उठाउन हामीले हजार रुपैयाँ लिएका हौं’, उनले भने, ‘स्कुलले नाफाका लागि लिएको छैन।’ यो विद्यालयलाई शिक्षा मन्त्रालयले पूर्ण छात्रबृत्तिमा पढ्ने गरिब जेहेन्दार विद्यार्थीका लागि वार्षिक २ करोड रुपैयाँ अनुदान दिने गरेको छ।
उसले ए-लेभल भर्ना फारम शुल्क १ हजार २ सय तोकेको छ। बालबलिकालाई गुणस्तीय शिक्षा दिदै आएकाले शैक्षिक ब्यवस्थापन गर्न सरकारी अनुदान अपुग भएकाले बढी शुल्क तोकेको स्कुलको तर्क छ। उता नेपाल प्रहरी उमाविका समादेशक (कमोनडेन्ट)राजुबाबु श्रेष्ठले प्रवेश परीक्षाका दिन स्कुलले नयाँ अभिभावक र विद्यार्थी दुबैलाई जुस, फलफुल, चिया, कुकिज लगायत खानेकुरा खुवाउने भएकाले फाराम शुल्क ५ सय रुपैयाँ लिएको बताए।
‘हामी विद्यार्थी र अभिभावकलाई स्कुलबारे डकुमेन्ट्री देखाउँछौं,’ श्रेष्ठले भने, ‘कक्षा ४ मा १२० सिट, ५ मा ४० र ६-८ सम्म खालि भए अनुसार सिटमा भर्ना लिए पनि सिट सख्या भन्दा चार गुणा बढी विद्यार्थीले फारम भरेका हुन्छन्।’
उनका अनुसार प्रबेश परीक्षाका बेला विद्यार्थीसहित उनीहरुका अभिभावक गरी कम्तीमा ५ जना आउँछन्। ‘सबैलाई चिया, खाजा खुवाउन खर्च त लाग्छ नि’, उनले भने। शुभताराकी संस्थापक रानी गुरुङ कक्षपतिले भने सरकारले आफनो स्वमित्व रहेको स्कुलहरुमै नियम पालना गर्न नसकिरहेको अवस्थामा निजी विद्यालयहरुलाई अंकुश लगाउन खोज्नु अब्यबहारिक भएको प्रतिक्रिया दिइन्।
‘शिक्षा सचिव अध्यक्ष रहेको बुढानिलकण्ठ र नेपाल प्रहरी प्रमुख संंरक्षक भएको नेपाल प्रहरी स्कुलले मनलाग्दी भर्ना फाराम शुल्क लिँदा मन्त्रालयले नियम भित्र ल्याउन सकेन,’ गुरुङले भनिन्, ‘सरकारले पहिले आफंैबाट सुधार गर्नु पर्छ।’
उनले पनि परीक्षा संचालनदेखि नतिजा प्रकाशनसम्म खर्च लाग्ने भएकाले भर्ना फारम शुल्क ५ सय लिएको बताइन्। अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले सर्वोच्चको आदेश नमान्ने विद्यालय र पालना गराउन नसक्ने सरकारी निकाय दुबै गैर जिम्मेवार भएको बताए। ‘निर्देशिका नमान्ने निजी विद्यालयहरु ऐन भन्दा ठूला छन्,’ उनले भने, ‘सरकारले पनि संस्थागत विद्यालयलाई पालना गराउनै नसक्ने निर्देशिका जारी गरेर नाटक गर्यो । दुबैको मार अभिभावकले सहनु पर्ने अबस्था छ।’
शिक्षा सचिव सुवेदीले निर्देशिका सबैले पालना गर्नु पर्ने बताए। ‘बुढालिकण्ठ स्कुललाई मैले आजै (सोमबार) भर्ना फाराम शुल्क नियम विपरित भएकोबारे स्पष्टिकरण मागेको छु,’ उनले भने, ‘भर्ना फारम र परीक्षा शुल्क १ सय २५ रुपैयाँ भन्दा बढी नलिन निर्देशन दिएको छु।’nagariknews


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं