एसएलसी दिएर बाहिर निस्के लगत्तै बसको ठक्करबाट परीक्षार्थीको मृत्यु

चैत १ – एसएलसी परीक्षा दिएर बाहिर निस्केलगत्तै आज सप्तरीमा एकजना परीक्षार्थीको बसको ठक्करले मृत्यु भएको छ ।



पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको मोहनपुरस्थित कठौनामा बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बनरझुला गाविसकी शशीकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ ।



भगवतपुर उच्चमावि परीक्षा केन्द्रबाट पहिलो दिनको परीक्षा दिएर निस्केलगत्तै राजविराजबाट सिरहा माडरतर्फ जाँदै गरेको ना४ ख २११४ नम्बरको बसले उनलाई ठक्कर दिएको हो ।



ठक्कर दिने बसलाई प्रहरी चौकी कठौनामा राखिएको छ भने मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगमाथा अञ्चल अस्पताल राजविराज ल्याएको प्रहरीले जनाएको छ ।



दुर्घटनापछि स्थानीयवासीले ठक्कर दिने बसका चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौनामा चक्काजाम गरिरहेका छन् ।