पौडी खेल्दा डुबेर पोखरामा एकको मृत्यु

पोखरा १६ दिपमा रहेको सेती नदीको बाँधमा पौडी खेल्ने क्रममा डुबेर पोखरामा एक व्यक्तिको मृत्यु भएको छ।



म्याग्दी जिल्ला गुर्जा गा.वि.स. वा. नं. ७ स्थायी घर भई हाल पो.उ.म.न.पा. १६ दिप डेरा गरी रष्ट्रिय उच्च मा. वि. टुडीखेलमा कक्षा ११ मा अध्ययनरत नेत्रबहादुर छन्त्यालको मृत्यु भएको हो ।



पौडी खेली रहेको अवस्थामा अचानक एक वेपत्ता भएको भन्ने स्थानीयबासीबाट सूचना प्राप्त भए अनुसार बडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनलाई फेला पार्न नसकेपछि शसस्त्र प्रहरी गण पार्दीको उद्धार टोली परिचालित भएको थियो ।



उक्त टोलीले वेपत्ता भएको स्थानबाट करीब २०० मीटर तल छन्त्यालको मृत शरीर फेला पारेको थियो । उक्त शवको घटनास्थल सम्बन्धी प्रारम्भिक कारवाही पूरा गरी पोष्टमार्ट्मका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको र पोष्टमार्ट्म पश्चात अन्तिम संस्कारको लागि आफन्तको जिम्मा लगाइने प्रहरी जनाएको छ ।



यसैबिच आज प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्नका लागि संचालन गरेको अप्रेशन जलकुम्भीको अभियानको क्रममा थप १ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा जिल्ला पोखरा वाड नं. १५ नयाँ गाँउ बस्ने बर्ष २३ का कुल बहादुर थापा रहेका छन् ।



थापाले घर जग्गा व्यवसायीलाई धाक धम्की देखाइ रकम असुल उपर गर्ने सूचना प्राप्त भएअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा पक्राउ गरेको हो । उनलाई अपहरण तथा शरिर बन्धकको उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।