हतियारसहित नेपाल प्रवेश गर्ने ६ एसएसबी पक्राउ

९ चैत, इलाम । इलामको पशुपतिनगरमा प्रहरीले ६ जना एसएसबी जवानलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमा क्षेत्र मानेभज्याङ नाकाबाट नेपाली भूमि हुँदै पशुपतिनगर निस्किएका ६ जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमै राखिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार हतियारसहित नेपाल प्रवेश गरेका हुनाले उनीहरूलाई पक्राउ गरेर सोधपुुछ गर्ने काम भइरहेको छ । उनीहरूले किन नेपालको बाटो प्रयोग गरेको हो भन्ने यकिन जानकारीसमेत आइनसकेको प्रहरीको उच्च स्रोतले बताएको छ । रासस