हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गयो

झापाको पृथ्वीनगरमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । पृथ्वीनगर-५ बस्ने ५५ वर्षीय ज्ञानबहादुर राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय गौरीशङ्कर सामुदायिक वनमा घाँस काट्न गएको बेलामा मङ्गलबार दिउँसो अचानक हात्तीले आक्रमण गरी टाउकोसमेत कुल्चेको अवस्थामा उनलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई अस्पतालमा भर्ना गरिएको थियो । जलथल जङ्गलमा बास बस्दै आएका ती हात्तीले पटकपटक सो क्षेत्रमा घर भत्काउने, अत्रबाली खाने, क्षति गर्ने र मानिसहरूमाथि आक्रमण गर्ने गरेका छन् । यो वर्षमा मात्रै झापामा हात्तीको आक्रमणबाट नौ जनाको मृत्यु भइसकेको छ ।