आयोगले सक्छु भनेपछि मिति घोषणा गर्नेछु : रेग्मी

प्रकाश तिमल्सिना, काठमाडौं, चैत २१ - निवार्चन मिति घोषणाका बिषयलाई लिएर अन्तरिम चुनावी परिषदका अध्यक्ष र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। भेटमा निर्वाचन आयोगले निर्वाचन गराउन सक्ने बताएपछि र निर्वाचन सम्वन्धि अध्यादेश पास भएपछि मिति घोषणा गरिने जानकारी अध्यक्ष रेग्मीले दिएका छन्।



निर्वाचनको मिति घोषणा गर्नु अघि प्रावधिक विषयलाई मिलाउन सरकार लागि परेको उनको भनाई थियो। 'निर्वाचन आयोगले पेश गरेको अध्यादेशको सरकारले अध्ययनन गर्छ, सो अध्यादेश पास भए पछि मात्र निर्वाचनको मिति घोषणा गर्ने सोचमा सरकार छ,' रेग्मी निकट स्रोतले भन्यो, 'त्यसैगरी, निर्वाचन आयोगले निर्वाचनका लागि तयार भएको औपचारिक जानकारी गराए पछि सरकारले मिति घोषणा गर्नेछ?' आयोगको प्रावधिक कारणले गर्दा निर्वाचनको मिति घोषणामा समस्या भएको रेग्मीको भनाइ थियो।

निर्वाचनका लागि दलहरु बिच साझा मिति तय गरी सरकारलाई सुझाव दिन रेग्मीले दाहाललाई आग्रह गरेका छन्। उच्चस्तरिय राजनीतिक संयन्त्रमार्फत साझा मिति तय गरी सुझाव दिनु पर्ने उनको भनाइ छ।