‘बलात्कारी’भनेर समाउँदा प्रेमी परेपछि…

काठमाडौं । तपाईले कसैसँग प्रेम गर्नुभएको छ र उनलाई भेट्न कोठामै जाने गर्नुभएको छ भने ख्याल गर्नुहोला, तपाईले बलात्कारीको अभियोगमा प्रहरीको खोरसम्म पुग्नुपर्ने हुनसक्छ । आइतबार ललितपुरको एकान्तकुनामा आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले उजुरी गरेपछि शिव थापामगरलाई प्रहरीले पक्राउ गरेको छ । तर, अनुसन्धानका क्रममा पक्राऊ पर्ने व्यक्ति बलात्कारी नभएर प्रेमी रहेको छनक पाएपछि प्रहरी अप्ठ्यारोमा परेको छ ।



पक्राऊ परेका शिवले आफूलाई वैशाख ३ गते आफ्नै कोठामा आएर बलात्कार गरेको भन्दै तामाङ थरीकी युवतीले कारबाहीको मागसहित प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले शिवलाई पक्राउ गर्‍यो । युवतीलाई पनि प्रहरीकै संरक्षणमा राखेर प्रहरीले अनुसन्धान अगाडि बढाइएको छ ।

अनुसन्धानका क्रममा पीडित भनिएकी युवती र पीडक भनिएका शिव प्रेमी-प्रेमिका भएको खुलेको छ । ‘यसबारे हामी अध्ययन गर्दैछौं’ अनुसन्धानमा संलग्नमा प्रहरी अधिकारीले अनलाइनखबरसँग भने-’घटना हेर्दा बलात्कार नै भनिहाल्ने अवस्था नभएपछि हामी थप छानविनमा छौं ।’

प्रहरी स्रोतका अनुसार शिव र ती युवती पटक-पटक विभिन्न रेष्टुराँ तथा लजमा जाने गरेका थिए भने शिव कहिलेकाँही युवतीको कोठैमा पुग्ने गरेका थिए । पछिल्लोपटक वैशाख ३ गते साँझ स्थानीयले उनीहरुको सम्वन्धप्रति शंका लागेपछि शिवलाई पक्राउ गरेका थिए । शिवले पनि आफूहरुको सम्वन्ध रहेको स्वीकार गरेका थिए । तर, पीडित भनिएकी युवतीको दिएको उजुरीमा शिवले आफूलाई आफ्नो कोठामा चुक्कुल लगाएर बलात्कार गरेको दाबी गरेपछि घटना जटिल बन्न पुग्यो ।

स्थानीयले शिवलाई पक्राउ गरेपछि युवतीलाई बलात्कारको मुद्दा हाल्न लगाएको प्रारम्भिक अनुसन्धानबाट पत्तो लागेको प्रहरी स्रोतले बतायो । उनीहरु आपसमा प्रेमी-प्रेमिका रहेको र सहमतिमा सम्बन्ध राखेको प्रमाणित भए दुबैलाई सम्झाएर छाडिदिने प्रहरीको तयारी छ ।