बालुवाटार छाडेपछि भट्टराईले के भने?

काठमाडौं, चैत २- निवर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी असारको पहिलो साता संविधानसभाको नयाँ निर्वाचन सम्भव भएको बताएका छन्। निजी निवास सानेपामा बिहीबार सञ्चारकर्मीमाझ उनले प्रमुख राजनीतिक दल निर्वाचनका लागि तयार भएको र मुलुक निर्वाचनको प्रक्रियामा अगाडि बढेकाले असारको पहिलो साता निर्वाचन सम्भव रहेको बताए।

'असारको पहिलो साता जे जसरी भए पनि निर्वाचन सम्पन्न गर्नैपर्छ, त्यसमा प्रमुख राजनीतिक दलसहित अन्य राजनीतिक दलको पनि प्रमुख भूमिका रहने र उनीहरूले पनि निर्वाचनमा सहयोग गर्ने विश्वास छ,' निवर्तमान प्रधानमन्त्री भट्टराईले भने।


'अन्तर्राष्ट्रिय प्रचलनअनुसार निर्वाचन घोषणा गरेकै सरकारले निर्वाचन सम्पन्न गराउने भए पनि नेपालमा विचित्र खालको लोकतन्त्र रहेकाले" सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न नसकिएको उनले बताए। उनले बहुदलीय व्यवस्थामा आआफ्नो मत राख्ने अधिकार रहेको बताउँदै नेकपा-माओवादीलगायत २२ दलले गरेको विरोधलाई साङ्केतिक विरोधको संज्ञा दिए। उनले भने, 'लोकतन्त्रमा सर्मथन र विरोध गर्ने दुवै अधिकार दललाई रहन्छ, त्यही अधिकार उहाँहरूले प्रयोग गर्नुभएको हो, यसलाई अन्यथा रुपमा लिनु हुँदैन, किनकि मुलकुलाई निर्वाचन चाहिएको छ, त्यसैमा सबै दल लाग्नाको कुनै विकल्प छैन।'

प्रधानमन्त्रीमा नियुक्त हुँदा शान्ति प्रक्रिया अगाडि नबढेको र संविधान निर्माणले गति लिन नसकेको अवस्थाको स्मरण गर्दै उनले आफ्नो कार्यकालमा शान्ति प्रक्रिया पूरा भएको र बाँकी रहेका माओवादी सेनाका पूर्व लडाकुको बाँकी रहेको दर्जा निर्धारणको काम पनि प्रमुख राजनीतिक दलको सहमतिमा बुधबार सम्पन्न भएको बताए।

दलहरूबीच सहमति हुन नसक्दा संविधान निर्माणले गति लिन नसकेको र त्यसमा सरकारको कुनै पनि दोष नभएको बताउँदै उनले भने, 'संविधान निर्माणमा त सरकारले सहजकर्ताको काम मात्रै गर्ने हो, त्यो भूमिका सरकारका तर्फबाट निर्वाह गरिएको हो, दलहरूबीच सहमति हुन नसक्दा संविधान बन्न सकेन तर आगामी दिनमा हुने निर्वाचनले त्यो काम पनि पूरा गर्छ।' आफ्नो कार्यकालमा मुलुकलाई आर्थिक विकासको प्रक्रियामा अगाडि बढाइएको जिकिर गर्दै उनले लगानी बोर्डको गठन, पश्चिम सेती जलविद्युत् आयोजनाको प्रक्रिया अगाडि बढ्नु, नेपाल वायु सेवा निगमका लागि लामो समयदेखि खरिद गर्न नसकिएको जहाज खरिदको प्रक्रिया अगाडि बढ्नु महत्वपूर्ण उपलब्धि भएको बताए। विभिन्न क्षेत्रबाट विरोध खेपेर पनि भारतसँग 'बिप्पा' गरिएको जानकारी दिँदै उनले घरेलु कानुन निर्माण नभएका कारण त्यसको कार्यान्वयन हुन नसकेको र त्यसको छिट्टै आवश्यक व्यवस्थासहित कार्यान्वयन हुने विश्वास व्यक्त गरे। तीस वर्षदेखि हुन नसकेको काठमाडौं उपत्यकाभित्रको सडक विस्तारको काम अगाडि बढेको र त्यसलाई कसैले पनि रोक्न नसक्ने बताउँदै निवर्तमान प्रधानमन्त्री भट्टराईले केही समयभित्रै भत्किएको काठमाडौं उपत्यकाभित्रको सडक निर्माण हुने र त्यसले सुन्दर सहरको परिकल्पनालाई साकार पार्ने बताए।

आफ्नो १८ महिना १८ दिने कार्यकालमा व्यक्तिगत स्वार्थ र चाहनालाई कुनै ध्यान नदिइएको र मुलुकलाई आर्थिक समृद्धिको दिशामा नै अगाडि बढाउनका लागि काम गरेको उनले बताए। प्रधानमन्त्री भएपछि सिंहदरबार र बालुवाटारमा मात्रै रमाउने विगतको संस्कृतिलाई त्याग गर्दै हेलो सरकार, जनतासँग प्रधानमन्त्री, जनतासँग एक रात लगायतका कार्यक्रम सुरु गरिएको र सो काम अनन्त कालसम्म पनि जनताले स्मरण गर्ने उनले जिकिर गरे।

निवर्तमान प्रधानमन्त्री डा भट्टराईले आफ्नो कार्यकालमा गरिएका कामको फेहरिस्त झल्कने 'प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्वमा गठिन संयुक्त सरकारका प्रमुख काम र उपलब्धि'पुस्तकाकार कृति पनि आजै सार्वजनिक गरे। सो पुस्तकमा शान्ति संविधान, सुशासन, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध, राहतलगायत विविध शीर्षक समावेश गरिएको छ। रासस