चुनावबाट कांग्रेस पहिलो शक्ति बन्ने शीर्ष नेताको दाबी

ध्रुव दंगाल, सिन्धुपाल्चोक, चैत २- प्रधानन्यायाधीश खिलाराज रेग्मीले अध्यक्षता गरेको चुनावी सरकारले गराउने संविधानसभा निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने दाबी कांग्रेस शीर्ष नेतृत्वले गरेका छन्। असार पहिलो साताको घोषित मितिमै निर्वाचन हुनेमा कार्यकर्तालाई आश्वस्त पार्दै नेताहरुले चुनावी तयारीका लागि भोलिबाटै परिचालित हुन पनि निर्देशन दिएका छन्।



नुवाकोटको बिदुरमा बिहीबार नेपाली कांग्रेस प्रशिक्षण विभागद्धारा आयोजित मध्यामाञ्चल स्तरीय महासमिति सदस्यहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले केन्द्रमा नेताहरु बीच समझादारी पूर्ण वातावरण रहेकाले नेतृत्व बीच नेतृत्वमा विवाद छ कि भन्ने भ्रममा नलागि गाउँ, क्षेत्र र जिल्लामा एकजुट भएर चुनावमा केन्द्रित हुन कार्यकर्तालाई आग्रहसमेत गरे। सभालाई सम्बोधन गर्दै सभापति सुशिल कोइरालाले संविधानसभा चुनावमा जान माओवादी लगायत दलहरुलाई कांगेसले बाध्य पारेको बताए। राष्ट्रप्रतिको जिम्मेवारीको बोध गरेर निकासका लागि चुनावी सरकारको नेतृत्व प्रधान्याधीसलाई दिइएको बताउँदै उनले भने, 'जुनसुकै हालतमा असार पहिलो हप्तासम्म चुनाव सम्पन्न गर्नुपर्छ।' कांग्रेस भित्र कुनै विवाद नरहेकोले कार्यकर्ताले स्फूर्तिका साथ फेरि एक पटक चुनाव तयारीमा जाँगर लगाउनु पर्ने बेला आएको बताए। आफ्नो पछिल्लो यात्रामा कांग्रेसप्रति जनलहर बढेको देखेको दाबी गर्दै कोइरालाले चुनावमा कांग्रेस के होला भनेर नआत्तिन समेत आह्वान गरे।



वरिष्ठ नेता शेरबहादुर देउवाले माओवादीलाई सरकारबाट विस्थापन गर्नका लागि प्रधान्यायधीसलाई प्रधानमन्त्री बनाउने निर्णयमा पार्टी पुगेको बताए। उनले कांग्रेस अबको निर्वाचनमा पहिलो पार्टी भएर लोकतान्त्रीक संविधान बनाउने दाबी समेत गरे। प्रधानमन्त्रीमा बहाल रहुन्जेल रेग्मीले न्यायालयको जिम्मेवारी पूरा नगर्ने राजनीतिक सहमती भएकोले शक्ति पृथकीकरणमा कुनै फरक नपर्नेमा आश्वास्त पार्दै उनले भने, 'शक्ति पृथकीकरण र न्यायलयलाई स्वतन्त्र राख्ने मुल्य र मान्यतामा कांग्रेस सँधै अडिक रहन्छ।' उनले आफूलाई चालीस्ा सुत्रीय माग प्रस्तुत गर्दै सरकार विरुद्ध हतियार उठाउने बाबुराम भट्टराईले आफू नेतृत्वमा रहँदा एउटै पुरा नगरेको आरोप पनि लगाए।



उपसभापति रामचन्द्र पौडेलले एकिकृत माओवादीले प्रधान न्यायाधीशको पासो थापेर आफैं धरापमा परेको बताए। 'माओबादीले चुनाब नगर्ने धेयका साथ प्रधान्यायधीसको प्रस्ताव अघि सार्दा काग्रेसले नस्वीकार्ने ठानेर जालो फालेको थियो। कांग्रेस चुनाबका लागी आतुर रहेकाले प्रस्ताव स्वीकार्दा माओवादी आफ्नै पासोमा परेको छ,' उनले भने। सत्तामा बसिरहने माओवादी चाहाना कांग्रेसले तुहाइ दिएको तर्क गर्दै आफूहरुले तुहाइदिएको पनि दावी गर्दै उनले चार दलका शीर्ष नेता मिल्न नसेकाले नै प्रधान न्यायाधीशलाई स्वीकार्नु परेको स्पष्ट पारे। उनले थपे, 'खिलाराज अब प्रधानमन्त्री हुन्। गल्ति गरे सर्वोच्चले उनलाई पनि छोड्दैन।'



महामन्त्री प्रकाशमान सिंहले लोकतन्त्र सिद्धाउने माओवादी योजना सफल हुन नदिन निर्वाचनमा जित सुनिश्चित गर्नु आवस्यक भएको बताए। अर्का महामन्त्री कृष्णप्रसाद सिटौंलाले माओवादीले निर्वाचन र संविधान दुवै नचाहेकाले प्रधानन्यायाधीशबाट बाबुराम सरकार विस्थापित गर्न बाध्य हुनु परेको धारणा राखे। उनले चुनावी सरकार कांग्रेसले समर्थन नगरेका दिन ढल्ने दाबी समेत गरे। कार्यक्रममा केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, नरहरि आचार्य, डा. रामशरण महत लगायतले चुनाव सम्पन्न गर्नु कांगे्रसको दायित्व भएको उल्लेख गर्दै स्वभाविक रुपमा बच्चा जन्माउन नसक्दा अप्रेसन गरेजस्तै स्वभाविक रुपमा निर्वाचन नहुँदा गरिएको अप्रेसन अहिलेको सरकार भएको तर्क गरेका थिए। २ सय भन्दा बढी महासमिति सदस्यले भाग लिएको तीन दिने प्रशिक्षण शनिबारसम्म चल्ने बताइएको छ।