पत्‍नीलाई नहरमा धकेल्ने मृत फेला

सप्तरी, चैत २- पत्‍नीलाई कोसी नहरमा धक्का दिएर आफू पनि सोही नहरमा हाम फालेर बेपत्ता भएका एक युवकको मृत शरीर आज प्रहरीले फेला पारेको छ। भारतको सीतामढी घर भई सप्तरीको हनुमाननगर-८ ससुराली भएका ३० वर्षीय रामनाथ रजकको मृत शरीर प्रहरीले खोजतलासका क्रममा बभनगामाकट्टी-३ स्थित नहरमा डुबेको अवस्थामा फेला परेको हो।



तीन दिनअघि पत्नी निक्कीसँग भएको सामान्य विवादका क्रममा रामनाथले आवेशमा आएर निक्कीलाई सोही नहरमा धकेलेर खसालेका थिए। पानीको उच्च बहाव भएको सो नहरमा पत्नीलाई खसाले लगत्तै उनी पनि सोही नरमा हामफालेका थिए। प्रहरीले पानीको मुहान बन्द गरेर लगातार खोजी कार्य गरिरहेको थियो।



यसै क्रममा हिजो घटनास्थलभन्दा १०० मिटर तल निक्कीको शव प्रहरीले फेला पारेको थियो। बिहीबार पनि बिहानैदेखि खोजी कार्यलाई निरन्तरता दिएको प्रहरीले रामनाथको शव घटनास्थल भन्दा २०० मिटर टाढा पानीमै डुबेको अवस्थामा फेला पारेको छ। रासस