एजेन्सी बेइजिङ, ११ पुस चीनले विश्वकै सबैभन्दा द्रुत गतिको रेल तथा लामो रेलमार्ग बुधबारदेखि औपचारिक रूपमा सुरुवात गरेको छ । आफ्ना महान् नेता माओत्से तुङको जन्मदिनको अवसर पारेर २६ डिसेम्बरदेखि चीनले विश्वकै सबैभन्दा लामो तथा दु्रत गतिको रेलमार्ग सञ्चालनमा ल्याएको हो । करिब दुई हजार दुई सय ९८ किलोमिटर लामो यस रेलमार्गले राजधानी बेइजिङ र देशको दक्षिणी भेगको व्यावसायिक केन्द्र ग्वाङझाउलाई जोड्नेछ ।

बुधबार बिहान पहिलो बुलेट ट्रेन बेइजिङबाट र दोस्रो ट्रेन ग्वाङझाउबाट छुटेको छ । यस मार्गमा चल्ने ट्रेनको औसत गति प्रतिघन्टा तीन सय किलोमटिर हुनेछ, जसले यात्रामा लाग्ने आधा समय घटाउनेछ । अन्य रेलमार्फत करिब २२ घन्टामा तय गरिने बेइजिङदेखि ग्वाङझाउसम्मको दूरी बुलेट ट्रेन सञ्चालनपछि आठ घन्टामा पार गर्न सकिने चीनको रेल मन्त्रालयका अधिकारीले जनाएका छन् । यस रेलमार्गमा ३५ वटा स्टेसन हुनेछन् । प्राविधिक रूपमा यो रेलमार्ग विश्वकै अत्याधुनिकमध्ये एक भएको चिनियाँ अधिकारीले बताएका छन् ।

चीनको रेल मन्त्रालयका अनुसार यस मार्गमा प्रत्येक दिन एक सय ५५ वटा बुलेट ट्रेन बेइजिङबाट र त्यति नै संख्यामा ग्वाङझाउबाट छुट्नेछन् । हाल बेइजिङदेखि ग्वाङझाउसम्मको पुरानो मार्गमा दैनिक एक सय ८३ जोडा रेल सञ्चालन हुँदै आएका छन् । हालैका दिनमा चीनले देशभर दु्रतगतिको रेल्वे नेटवर्क विस्तार गर्दै आएको सडक मन्त्रालयअन्तर्गतको विज्ञान तथा प्रविधि शाखाका महानिर्देशक झोउ लीले जनाएका छन् । बेइजिङदेखि ग्वाङझाउसम्मको दु्रत गतिको रेलमार्ग सञ्चालनमा आएसँगै चीनमा करिब नौ हजार तीन सय किलोमिटर दु्रत गतिको रेलमार्ग प्रयोगमा आइसकेको छ । सन् २०१५ भित्र देशभरमा एक लाख २० हजार किलोमिटरको रेलमार्ग सञ्चालनमा ल्याइसक्ने महत्त्वाकांक्षा चीनको १२आँै पञ्चवषर्ीय योजनाले लिएको छ । जसअन्तर्गत १८ हजार किलोमिटर दु्रत गतिको रेलमार्ग हुनेछ ।