निर्देशक शिव रेग्मीको दुबै मिर्गौला फेल, उपचारका लागि अझै १५ लाख लाग्ने
शरीरमा बल भइन्जेलसम्म सबैको प्यारो, थला परेपछि केही गर्न नै गाह्रो’ बिशेषगरी नेपाली सिने नगरीमा देखिने सबैभन्दा ठूलो समस्या हो यो । चलचित्र क्षेत्रमा सक्रिय भइन्जेलसम्म, शरीरमा बल भएर काम गरुन्जेलसम्म अधिकांश चलचित्रकर्मी सबैका लागि लोकपि्रय हुन्छन् । तर शारीरिक रुपमा अस्वस्थ भएपछि उनीहरुको अवस्था दुख लाग्दो हुन्छ । न त सरकार त न चलचित्र क्षेत्र नै उनीहरुलाई सहयोगका लागि एकजुट भएको नै देखिन्छ ।नेपाली सिनेमा नगरीका सफल निर्देशक शिव रेग्मी अहिले यस्तै समस्या झेलिरहका छन् । लामो समयदेखि उपचार गराइरहेका शिव यतिबेला ओच्छ्यानमा छन् । तर उनको बिषयमा सिंगो सिने नगरीले खासै वास्ता गरेको देखिदैन ।
निर्देशक रेग्मीको दुबै मिर्गौला फेल भएको छ । उनको दुबै मिर्गौला फेर्नु पर्ने बताइएको छ । स्वास्थ्यमा केही सुधार आएपछि रेग्मी अहिले घरमै आराम गरिरहेका छन् । उनको साउन महिना भित्र मृगौला प्रत्यारोपण गर्ने बताइएको छ । शिवका आफ्नै भाइले एउटा मृगौला दिन लागेका हुन् ।
१८ दिनसम्म अस्पतालमा भर्ना भएका निर्देशक रेग्मीको यतिबेला डाइग्नोसिस प्रक्रिया चलिरहेको छ । डाइग्नोसिस प्रक्रिया लामो समयसम्म चल्ने र दैनिक १५ हजार भन्दा धेरै खर्च हुने गरेको छ । मृगौला प्रत्यारोपणका लागि ४ लाख रुपिया धरौटी राख्नुपर्ने हुन्छ । यस्तै शिवको उपचारका लागि अझै १५ लाख लाग्ने वुझिएको छ । यसैले पनि निर्देशक रेग्मी चलचित्र बिकास बोर्ड अन्र्तगतको कल्याणकारी कोषबाट सक्दो सहयोगको अपेक्षामा छन् । यस्तै उनले विभिन्न चलचित्र सम्बन्धी संघसंस्थाबाट पनि सहयोगको अपेक्षा गरेको वुझिएको छ । विगत ७ महिनादेखि उपचारार्थ निर्देशक रेग्मीका छोरा बंगलादेशमा डाक्टरी पढिरेहका छन् भने २ छोरी पनि अध्ययनकै क्रममा छन् । यसैले पनि निर्देशक रेग्मीले आफ्नो उपचारका लागि चलचित्र क्षेत्रबाट नै सहयोग अपेक्षा गरेका हुन् ।
निर्देशक रेग्मीले ए मेरो हजुर, आफन्त, आफ्नो मान्छे, हामी तिन भाई, कहाँ भेटिएला, सुख दुख जस्ता हिट सिनेमा दिएका छन् ।