४३ बालबालिकालाई भारत लग्न खोज्ने दाजुभाइ पक्राउ

सुर्खेत – धेरै कमाई हुने प्रलोभन देखाएर बालबालिकालाई भारत लग्न खोजेको आरोपमा सल्यानका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले सल्यानका विभिन्न गाउँबाट ल्याएका ४३ बालबालिकालाई भने अभिभावकको जिम्मा लगाइने भएको छ।

सल्यानको निगालचुला, माझकाँडा र कुभिन्डेदह गाउँ विकास समितिबाट ल्याइएका १४ देखि १९ वर्षसम्मका बालबालिकालाई शुक्रबार साँझ सुर्खेत प्रहरीले छिन्चुबाट उद्दार गरेको थियो । बालबालिकालाई प्रलोभनमा पारी जोखिमपूर्ण काममा लग्न खोजेको आरोपमा टंकबहादुर रोकामगर र उनका भाइ सूर्यबहादुर पक्राउ परेका छन्। उनीहरुलाई अहिले आवश्यक अनुसन्धानको लागि हिरासतमा राखिएको सुर्खेतका प्रहरीप्रमुख एसपी विश्वनिरन्जन प्रधानले बताए । ‘ससाना बालबालिकालाई राम्रो कमाई हुन्छ भन्दै विदेशमा जोखिमपूर्ण काममा लगाउन खोज्नु गैरकानुनी काम हो,’ उनले भने, ‘त्यसैले दुवैजनालाई पक्राउ गरी अनुसन्धानको लागि राखेका छौँ ।’ प्रारम्भिक बयानमा भारतको सिमलास्थित अम्बुजा सिमेन्ट कम्पनीमा काम लगाउन लग्न लागिएको बताएको उनले जानकारी दिए।

रोकामगर दाजुभाइले राम्रो कमाई हुन्छ भनेपछि कुभिन्डेदहमा दिदीको घरमा बस्दै आएका नबिन बिकले घरपरिवारलाई जानकारी नदिई हिँडेको बताए । ‘विदेश पनि जान पाइने, पैसा पनि कमाइने भएपछि उहाँहरुको पछि लागेर आएको हुँ,’ १४ वर्षीय नबिनले भने, ‘प्रहरीले हामीलाई किन समात्यो अचम्म लागेको छ ।’ उनले आफ्नो छामलका साथीहरुसँग बस चढेर आउँदा रमाइलो लागेको बताए।

उनको उमेरका प्रेम बिकले भने बुवाआमाले ‘पैसा कमाउन’ भारत पठाएको बताए। रोकामगरले घरमा गएर बाआमासँग कुरा गरेपछि सल्लाहमै भारत हिँडेको उनको भनाइ छ । ‘हामीजस्ता गरिबलाई गाउँमा बसेर पैसा कहाँबाट आउँछ ?’ उनले भने, ‘त्यही भएर कमाउन हिँडेको हुँ ।’

बालबालिकाले घरपरिवारको सल्लाहमा हिँडेको बताए पनि कतिपय बालबालिका भागेर हिँडेका स्थानीयले बताएका छन्। यही सुचनाको आधारमा प्रहरीले सबै बालबालिकालाई आइतबार सल्यानको बालुवासंग्राही पुर्‍याएर अभिभावकको जिम्मा लगाउने जनाएको छ । रोकामगर दाजुभाइले सबै बालबालिकालाई सोही ठाउँबाट लु१ख ६७९० नम्बरको बसमा चढाई ल्याएका थिए । रोकामगरले विदेशमा लगेर जोखिमपूर्ण श्रममा लगाउन खोजेको सुराकी पाएपछि प्रहरीले शुक्रबार साँझ ७ बजे छिन्चुमा रोकेको थियो । पक्राउ परेकामध्ये १९ बालक र २४ बालिका छन्। अभिभावकको सहमति भए पनि बालबालिकासम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन रोक लगाएकोले घर फर्काउन लागिएको एसपी प्रधानले बताए ।