मिलन चाम्सको हँसियाको शुभसाइत
नेपाली समाजमा विद्यमान हत्या हिंसाको विरुद्ध कसरी लाग्ने भन्ने कथा समेटिएको फिल्म ‘हँसिया’को मंगलबार शुभसाइत गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको हो ।
चाम्स इन्टरटेनमेन्टको व्यानरमा युवा निर्देशक मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म एक्सन र सस्पेन्स किसिमको रहेको छ । दुर्गा घले प्रस्तुतकर्ता र गंगाराज राई निर्माता रहेको फिल्ममा राजेश हमाल, हेमा श्रेष्ठ, प्रशन्न शाह, अनुप विक्रम शाही, विशाल ढुंगाना, आलोक कार्की, विजय कुँवर, करण राई र शिशिर राणाको अभिनय रहेको छ । फिल्ममा प्रहरी अधिकृतको भूमिकामा देखिएका हमालले फिल्मकै लागि कपाल काटेका छन् । यसअघि प्रहरी अधिकृतको भूमिकामा अभिनय गरे पनि हमालले कपाल काटेका थिएनन् ।
निर्देशक मिलनले गाउँघर र नेपालको मौलिकता झल्काउने हतियार हँसिया जसले घाँस काट्छ र यो फिल्ममार्फत अपराधलाई पनि काट्ने कुरा फिल्ममा रहेको बताए । अनुप सापकोटाको कथा रहेको फिल्ममा निलम आङबुहाङ राईको गीत, कल्याण सिंहको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व र रामकुमार केसीको छायांकन रहेको छ । फिल्मको छायांकन बुधबारबाट शुरु हुनेछ ।