माओवादी गठबन्धन छाड्दै मधेसी र सानादल

२८ जेठ, काठमाण्डौं । गठबन्धनमा रहेका मधेसी र साना दलहरु टाढिँदै गएपछि संविधानसभा चुनावमा एउटै घोषणा पत्र लिएर जाने, चुनावमा सहकार्य गर्ने र जिल्लातहमा पनि गठबन्धन बलियो पार्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको योजना अलपत्र छ ।

पछिल्लो पटक गत जेठ ५ मा एमाओवादी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा गठबन्धनमा रहेका २० मध्ये मुस्किलले १४ दलका नेतामात्रै सहभागी भए, विजयकुमार गच्छदारबाहेक अरु मधेसवादी दलका नेता जाँदै गएनन् । एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला २०६९ साउन ३१ मा बनाइएको गठबन्धनमा २० दल र एक स्वतन्त्र सभासद थिए ।

गठबन्धनमा गच्छदार नेतृत्वको मधेसी फोरम लोकतान्त्रिक, राजकिशोर यादब नेतृत्वको फोरम गणतान्त्रिक, राजेन्द्र महतो नेतृत्वको सद्भावना, अनिल झा नेतृत्वको संघीय सद्भावना, रामनरेश राय नेतृत्वको राष्ट्रिय सद्भावना, महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल (तमलोपा नेपाल) रहे पनि पछिल्लो बैंठकमा गच्छदार मात्रै रहेको कान्तिपुर दैनिकमा खबर छ । मधेसी दल आवद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उपस्थितिका कारण गठबन्धन बलिाये बनेको थियो ।