गेस्ट हाउसले पनि गर्न थाल्यो रक्तचन्दनको तस्करी

१८ वैशाख, काठमाण्डौं । तस्करहरूले रक्तचन्दन लुकाउन काठमाडौंका गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको छ। प्रहरीले रक्तचन्दन र तस्करीका अन्य सामान बरामद गर्न छापा मार्ने क्रमलाई तीव्रता दिएपछि तस्करहरूले त्यस्ता सामान लुकाउन गेस्ट हाउस प्रयोग गर्न थालेको खुलासा भएको हो। प्रहरीले मंगलबार बिहान ठमेलस्थित हेभन माउन्ट एभरेस्ट गेस्ट हाउसको पार्किङस्थलबाट ६५ किलो रक्तचन्दनसहित कारोबारीलाई पक्राउ गरेको थियो।




सो गेस्ट हाउसको पार्किङस्थलमा रहेका गाडीमा रक्तचन्दन लुकाइएको थियो। विशेष सूचनाका आधारमा प्रहरी सो ठाउँमा पुगेको थियो। काठमाडौं परिसरका अनुसार रक्तचन्दनसहित सिन्धुपाल्चोक तातोपानीका २७ वर्षीय नुरुप शेर्पा, सिन्धुपाल्चोक गुम्ताङका २४ वर्षीय लीला श्रेष्ठ, बाह्रबिसे घर भएका ३२ वर्षीय उमेश भन्ने अमर श्रेष्ठ, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक लिस्टीका २७ वर्षीय निमाछिरिङ शेर्पा र ढल्कु बस्ने सिन्धुपाल्चोक जलविरे घर भएका ४७ वर्षीय पदम श्रेष्ठ पक्राउ परेका छन्। परिसरका प्रवक्ता डीएसपी चक्रबहादुर सिंहका अनुसार पक्राउ परेकाहरूलाई सिन्धुपाल्चोककै एक व्यक्तिले सो गेस्ट हाउसमा पुगेर बस्न भनेका थिए।

योभन्दा बढी थाहा छैन,’ उनीहरूले बयानमा भनेका छन्। उता, प्रहरीले भने गेस्ट हाउसबाट रक्तचन्दन बरामद हुनुलाई नयाँ अखडाका रूपमा लिएको छ। उसले विशेष सूचनाका आधारमा घटनास्थलसम्म पुगेको जानकारी पनि दिएको छ। ‘हामीलाई सो गेस्ट हाउसको पार्किङमा रहेको गाडीमा रक्तचन्दन छ भन्ने सूचना आयो, सोहीअनुसार छापा मार्दा फेला परेको हो र उनीहरू पक्राउ परे,’ परिसरका प्रवक्ता सिंहले भने। राजधानीमा लामो समयपछि प्रहरीले रक्तचन्दन बरामद गरेको हो । प्रहरीका अनुसार ढल्कुकै गोरखा अस्पतालअगाडि बा१च ९२८३, बा१च ५०२० नम्बरको टोयोटा गाडीमा रक्तचन्दन राखेर पार्किङ गरिरहेका थिए, राजधानी दैनिकमा खबर छ ।

प्रहरीले बा१च ९२८३ नम्बरको गाडीको डिकीको इन्धन राख्ने ट्यांकीजस्तो बनाई भित्र खुला गोलो दाना बनाएको ३४ केजी, बा१च ५०२० नम्बरको गाडीभित्र खरानी रङको सिलिक झोलाभित्र १० पोका सेतो प्लास्टिकमा पोका पारेको गोलो दाना भएको रक्तचन्दन ६ केजी र उमेश भन्ने अमर श्रेष्ठको डेराबाट रातो झोलाभित्र लुकाई–छिपाई राखेको अवस्थामा साढे २५ केजी रक्तचन्दन बरामद गरेको थियो । उनीहरू रक्तचन्दन तातोपानी लैजाने पेसेवर भरिया भएको प्रहरीले दाबी गरेको छ । ‘उनीहरूको अवस्था हेर्दा यसअघि पनि धेरै पटक रक्तचन्दन लगेको आशंका हामीले गरेका छौं,’ डीएसपी सिंहले भने । उनका अनुसार सबै तस्करीका लागि तयार गरिएका रक्तचन्दन गुच्छा आकारमा छन् ।