सत्तारुढ दलद्वारा जनसभा सफल पार्न समिति गठन व्यवस्थापन समितिको जिम्मा महरालाई

६ माघ, काठमाडौँ । सत्तारूढ दलहरूको मोर्चा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले आगामी माघ १७ गते हुने जनजागरणसभा व्यवस्थापनका लागि सात सदस्यीय समिति गठन गरेको छ । गठबन्धन संयोजक एवम् एकीकृत माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा शनिवार बसेको गठबन्धन सचिवालय बैठकले व्यवस्थापन समिति गठन गरेको हो । समितिमा कृष्णबहादुर महरा, जितेन्द्र देव, केशवमान शाक्य, प्रेमबहादुर सिंह, रामनरेश राय, विश्वेन्द्र पासवान र रूक्मिणी चौधरी छन् । यस्तै बैठकले सभा सम्पन्न गर्न विभिन्न पाँचवटा उपसमितिसमेत गठन गरेको छ । कृष्णबहादुर महराको नेतृत्वमा जनपरिचालन उपसमिति, जितेन्द्र देवको नेतृत्वमा प्रचार-प्रसार उपसमिति, देवेन्द्र पौडेलको नेतृत्वमा आर्थिक उपसमिति, गणेशमान पुनको नेतृत्वमा स्वयमसेवक परिचालन उपसमिति र शालिकराम जमकट्टेलको नेतृत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन भएको गठबन्धन प्रवक्ता पे्रमबहादुर सिंहले जानकारी दिनुभयो । गठबन्धले वृहत प्रदर्शनसहित काठमाडौँको खुलामञ्चमा माघ १७ गते आमसभा गर्दैछ । राष्ट्रिय सहमति हुन नसक्नुको कारणसहितको सन्देश जनतामा लैजाने उद्देश्यका साथ जागरणसभा गर्न लागिएको गठबन्धनले जनाएको छ । विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेलगत्तै सत्ता गठबन्धनले पनि जनपरिचालन गर्ने निर्णय गरेको हो ।