मनीषाको अप्रेशन आज

क्यान्सरबाट पीडित नायिका मनीषा कोइरालाको अप्रेशन आज साँझ हुने भएको छ । मुम्बइको जसलोक अस्पतालमा उपचारपछि मनीषालाई आठ दिनअघि न्यूयोर्क लगिएको थियो । मनीषाको विहीबार नै अप्रेशन गर्ने तयारी भएपनि प्रयोगशाला परिक्षणपछि चिकित्सकहरुले सोमबारलाई सारेका थिए ।

अप्रेशन पश्चात मनीषालाई एक महिना अस्पतालमै राखिने छ । उनको अवस्था खतरामुक्त रहेको पारीवारिक श्रोतले बताएको छ । उनलाई न्यूयोर्कस्थित मेमोराइज स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा भर्ना गरिएको छ । मनीषाका साथमा उनका बुबा प्रकाश, आमा सुष्मा र भाई सिद्धार्थ छन् ।
पेट दुखेपछि काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी मनीषालाई त्यसको २ दिनपश्चात मुम्बइको जसलोक अस्पताल लगिएको थियो । जसलोक अस्पतालमा केही दिन उपचार गरेपछि मनीषालाई उनको परीवारले न्यूयोर्क लैजाने निर्णय गरेको थियो ।