लागूऔषधको कारोबार गर्ने मोक्तान प्रहरी फन्दामा (फोटो सहित)

२५ जेठ- पोखरामा लागूऔषध दुव्र्यसनीको समस्या दिनप्रतिदिन जटिल बन्दै गईरहेको छ । यस्तो अवस्थामा कास्की प्रहरीले फेवा अप्रेशनका नाममा शुरु गरेको कारवाहीका क्रममा पोखरामा लागूऔषधको सप्लाई गर्ने मुख्य व्यक्ति नै प्रहरी फन्दामा परेका छन् ।


प्रहरीले लागूऔषध सहित मकवानपुर जिल्ला कालिकाटार गाविस वडा नं. ८ लिक्चे घर भई हाल पोखरा बस्दै आईरहेका ३० वर्षीय रामसिंह मोक्तानलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरीले जेठ २३ गते पोखराको पृथ्वीचोकबाट मोक्तानलाई पक्राउ गरेको थियो । पृथ्वीचोकमा पक्राउ परेका उनको शरीर खानतलासी गर्दा प्रहरीले नर्फिन १०० थान, डाईजापाम १०० थान र फेनेरागन ईन्जेक्स १०० थान फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी केदार रिजालले जानकारी दिए । प्रमुख रिजालका अनुसार मोक्तानलाई लागूऔषध मुद्दामा कारवाही अघि बढाईएको छ ।

गत जेठ १३ गते पक्राउ परेका अन्य लागूऔषध कारोवारीहरुको मुख्य डिलरका रुपमा समेत रहेका मोक्तानलाई पक्राउ गरिए पछि थप अन्य कारोवारीहरुको समेत रहस्य खुल्ने प्रहरीको भनाई छ । यस अघि जेठ १३ गते पोखरा–१२ सितलादेवी बस्ने वर्ष ३० का चेतमान गुरुङ, पोखरा– ८ पृथ्वीचोक बस्ने वर्ष २३ का सुमिन मगर, सोही ठाउँ बस्ने वर्ष २३ को सुनिल पाठकलाई प्रहरीले चेकजाँच गर्ने क्रममा लेखनाथ नगरपालिका वडा नं. ३ बुढिबजारमा लागूऔषध सहित पक्राउ गरेको थियो । सो क्रममा ग.१.ज. ३४३९ नं. को ट्याक्सीमा लुकाई छिपाई ल्याएको अवस्थामा ९६ थान फेनेरागन, ९६ थान नर्फिन र ९६ थान डाईजापाम फेला परेको थियो ।

पक्राउ परेकाहरुले दिएको बयान अनुसार पोखरा र आसपासका क्षेत्रमा हुने लागूऔषधको मुख्य कारोवारी रामसिंह मोक्तान रहेको रहस्य खुलेको थियो । त्यसपछि मोक्तानको खोजीमा रहेको प्रहरीले विशेष सूचनाका आधारमा मोक्तानलाई पक्राऊ गर्न सफल भएको हो ।