"धापाखेल" लेख्न नजान्दा शिक्षिकाले बालिकाको कानै चुँडाएपछि…

९ असार, ललितपुर । ललितपुरको एक निजी विद्यालयमा एलकेजीमा पढ्ने छात्राले धापाखेल लेख्न नजान्दा उनको कानको नसा चुँडाइएको छ । एलकेजीमा अध्ययनरत पाँच वर्षीया बालिका एसमिरा विष्टको कान चुँडिने गरी शिक्षकले पिटेका हुन् । धापाखेलमा रहेको जुगल बोर्डिङ स्कुलमा एलकेजीमा पढ्ने छात्रा विष्टलाई ‘धापाखेल’ लेख्न नजानेको भन्दै शिक्षिका राधा मिश्रले सो काम गरेकी हुन् । शिक्षिका मिश्रले १५ दिनअगाडि छोरीको कान निमोठेपछि कानमा समस्या आएको एसमिराका बुबा बालकृष्ण विष्टले बताए ।



‘छोरी घरमा आएर कान दुख्यो भन्दै रुन थालिन्, अनि तेल लगाएर घरेलु माध्यमबाट उपचार गरियो, तर निको भएन । विद्यालयमा गएर प्रिन्सिपलसँग पनि भनियो, विद्यालय प्रशासनले पनि त्यसलाई बेवास्ता गर्दै आयो,’ पिता बालकृष्णले भने । शुक्रबार कानको बाहिरपट्टिको घाउ निको नभएपछि पाटन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । परीक्षणपछि अस्पतालका चिकित्सकले बच्चाको कानको नसामा गम्भीर समस्या आएको भन्दै शुक्रबार नै पाटन अस्पतालमा अप्रेसन गरेका थिए ।

‘कानपछाडिको सोइलिङ फुत्किएको र ब्लड जमेको’ भन्दै तत्काल अप्रेसन गरेको बताइएको छ । ललितपुरको सुमेरु अस्पतालमा १४ दिनदेखि छोरीको उपचार गर्दै आएको भए पनि निको नभएकाले पाटन अस्पतालमा ल्याइएको बालकृष्णले बताए । उनले भने, ‘हामीले सामान्य समस्या होला भनेका थियौं, तर समस्या ठूलो रहेछ ।’ कानको पछाडिको सोइलिङ फुत्किएको भन्दै चिकित्सकले अप्रेसन गरेका थिए । शुक्रबार नै अप्रेसन गरेर छोरीलाई घरमा लगिएको र एक सातापश्चात पुनः अस्पताल ल्याउन चिकित्सकले सुझाएको राजधानी दैनिकमा खबर छ ।

यो घटनापछि खोटाङबाट काठमाडौंमा छोराछोरीलाई राम्रो विद्यालयमा राखेर पढाउन आएका बालकृष्ण र ज्योति निराश छन् । विद्यालयबाट धेरै कुरा सिकेर छोरी आउँछे भनेको त ‘धापाखेल’ लेख्न नजानेकै कारण छोरीको कानको अप्रेसन गर्नुपर्यो,’ मलिनो स्वरमा बालकृष्णले भने । अब विद्यालयमा पढ्न पठाउँदा पनि झस्किनुपर्ने अवस्था आएको उनले बताए । अस्पतालमा अप्रेसन गर्दा ५ हजार रुपैयाँ खर्च भएको छ । खर्चभन्दा पनि दैनिक रूपमा छोरीको कानको समस्याका कारण विष्ट परिवार तनावमा छ । यो घटनाले सो जुगल बोर्डिङमा छोराछोरी पढाउने सयौं अभिभावक चिन्तित बनेका छन् ।

आफ्ना छोराछोरीले पनि गृहकार्य नगरेको र पढ्न वा लेख्न नजानेकै नाममा कुनै दुर्घटना होला भन्ने उनीहरूमा त्रास रहेको हो । जुगल बोर्डिङ स्कुलका प्रिन्सिपल समीर विष्टले मानवीय त्रुटि भएको भन्दै घटनालाई स्वीकार गरे । शिक्षिकाले जानीजानी गल्ती नगरेको तर यस गल्तीप्रति विद्यालयले अभिभावकसँग माफी माग्दै क्षतिपूर्ति तिर्न सहमत भएको प्रिन्सिपल विष्टले बताए । विद्यालयबाट पहिलो पटक गल्ती भएको उनले बताए । विद्यालयमा पढ्ने कुनै पनि बालबालिकालाई शिक्षक वा शिक्षिकाले पिट्न पाइँदैन । विद्यार्थीलाई पिट्ने शिक्षकशिक्षिकामाथि कारबाही हुन्छ । दण्डरहित वातावरणमा पढाउनुपर्छ ।