आर्मी र मनाङको उपाधि भिडन्त आज

१ असार, काठमाडौं । गोर्खाकप फुटवलको उपाधिका लागि आज आर्मी र मनाङ मस्याङ्दी क्लब भिड्दैछन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह हुने उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।



मनाङका दुई खेलाडी योना इलियास र अजिज नहुनुको फाइदा आर्मीलाई हुनेछ । भरत खबाससहित स्टार खेलाडी नहुँदा युवा खेलाडीहरुमा भर परेको आर्मी यो सिजनको सुुरुवातसँगै लयमा देखिएको छ । यसअघि शारीरिक रुपमा बलियो मात्र रहेको आर्मी यो पटक भने टेक्निक र ट्याक्टिसमा पनि अब्बल देखिएको छ ।



मनाङले २०३९ सालमा स्थापना भएसँगै घरेलु फुटबलमा सशक्त प्रदर्शन गर्दै आएको छ । मनाङमा स्टार खेलाडीहरुको बाहुल्यता छ । त्यसमाथि सेमिफाइनलमा लिग च्याम्पियन थ्री स्टारलाई हराएकाले उसको मनोबल बढेको छ । समूह चरणमा भएको भेटमा भने आर्मीले मनाङलाई १–० ले पराजित भएको थियो । दुई दशकपछि मनाङका प्रशिक्षकमा फर्किएका अमृत पन्त समूह चरणमा गरेको गल्ती सच्याउने मौका आएको बताउँछन् ।



आर्मी र मनाङ ७ वर्षपछि नकआउट फुटबलको फाइनल खेल्दैछन् । २०६३ सालमा सुवर्ण शक्शेर कपमा आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै मनाङले उपाधि उचालेको थियो । २०५० सालमा शुभजन्मोत्सव कप जितेयता आर्मीले रंगशालामा कुनै उपाधि उचालन पाएको छैन ।